Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

जग्गा व्यवसायीमाथि कुटपिट घटनामा भारतबाट दुई जना पक्राउ

काठमाडौंमा जग्गा व्यवसायी विक्रम लामामाथि कुटपिट गरेको आरोपमा फरार दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ गरेको एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

पक्राउ पर्नेमा नुवाकोटका अजय लामा र गोरखाका दीपक बरामु छन् । उनीहरूलाई प्रहरीले भारतबाट पक्राउ गरी ल्याएको स्रोतले जनाएको छ । उनीहरूसहितको टोलीले विक्रममाथि कात्तिक ७ गते लाजिम्पाटको इनोभा अस्पतालको पार्किमा कुटपिट गरेका थिए । यो मुद्दामा ७ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ ।


प्रतिवादीहरूमा नुवाकोट ककनी गाउँपालिका–४ का अजय लामा, बेलकोटगढीका शैलेन्द्र तामाङ, गोरखाको आरूघाट गाउँपालिका–७ का दीपक बरामु, गोरखाकै गण्डकी गाउँपालिका–४ का निश्चल सुनार, सुनसरीको धरान उपमहानगरपालिका–१३ कि ५० वर्षीया लक्ष्मी राई, धादिङ ज्वालामुखी गाउँपालिका–४ दोभानटारका रमेश सिलवाल र गोरखा आरूघाटकै सिजन अधिकारीविरूद्ध मुद्दा दायर भएको थियो । लक्षमी राई र रमेश सिलवाल अझै फरार छन्। यस घटनामा उनीहरू दुई जना मुख्य अभियुक्त हुन् ।