Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

थुनछेक बहस नसकिएपछि पूर्वडीआईजी जोशी पनि हिरासतमा

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी प्रकरणका प्रतिवादी पूर्वडीआईजी छविलाल जोशीको मुद्दा हेर्दाहेर्दैमा बसेको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका जोशीबारे न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासमा थुनछेक बहस भएको थियो ।


आइतबार थुनछेक बहस नसकिएपछि न्यायाधीश खरेलले जोशीलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएका छन् । यससँगै जोशीलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौं हिरासतमा लगिएको छ ।

गोर्खा मिडिया नेट्वर्कमा रवि लामिछाने र गितेन्द्रबाबु राई (जीबी) का साझेदार जोशी यसअघि पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा ८८ लाख धरौटी राखेर छुटेका थिए ।


कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईले जोशीलाई ८८ लाख धरौटीमा छाडेपछि काठमाडौं चलेको मुद्दाका लागि उनी हाजिर भएका हुन् ।

काठमाडौं जिल्ला अदालतमा ढिलोगरी हाजिर भएका जोशीको मुद्दामा पनि अब पुर्पक्षमा पठाउने या तारेखमा राख्ने आदेश हुने छ ।

यसअघि उनीसँगै कास्कीबाट ६५ लाख धरौटी बुझाएर रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतबाट ६० धरौटी बुझाएर छुटेका छन् ।

रविविरुद्ध आइतबार जिल्ला अदातलमा रुपन्देहीमा अर्को मुद्दा दर्ता भएको छ । रुपन्देहीमा रवि र छवि दुवैलाई सहकारी ठगी र संगठित अपराधमा प्रतिवादी बनाइएको छ । रविविरुद्ध ४ करोड भन्दा बढी बिगो कायम गर्दै मुद्दा चलाइएको छ ।