राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) अवलोकन भ्रमण गरेको छन । नेपाली सेनाको हेलिकप्टरमार्फत द्रुतमार्गको अवलोकन भ्रमण गर्न उनी मकवानपुरको बकैयामा आएको हो ।
उनले बकैया–११ लेनडाँडामा निर्माण भइरहेको द्रुत मार्गको सुरुङ अवलोकन गरी निर्माणबारे जानकारी लिएको छन । नेपाली सेनाको प्रतिनिधिले अहिले सम्म भएका प्रगति र निर्माणको अवस्थाबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको थिए ।

मकवानपुरमा अवलोकन गरेपछि हेलिकप्टरबाटै बारामा भइरहेको कार्यबारे जानकारी लिन उनी निजगढतर्फ जाने र त्यहाँबाट काठमाडौँ फर्कने कार्यक्रम रहेको बताइएको छ । राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिए ।
काठमाडौँ, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने ७०.९७७ किलोमिटरको फास्ट ट्र्याक निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठूलो योगदान पुग्ने अपेक्षा राखिएको छ । अहिले खोकना खण्डको ६.५ किलोमिटर बाहेक ६४.४७७ किमिमा मात्र काम भइरहेको छ ।