Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

प्रेममा रहेका बेला खिचिएका तस्वीर–भिडियो सम्बन्ध बिग्रेपछि सार्वजनिक गर्ने पक्राउ

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–८ धुले बेसीघर भई काठमाडौँ महानगरपालिका–१३ बस्ने १९ वर्षीय श्रीकृष्ण कार्की र भोजपुर षडानन्द नगरपालिका–५ घर भई काठमाडौँ महानगरपालिका–६ बौद्ध नयाँ बस्ती बस्ने ३१ वर्षीय सरोज कटुवाल छन् ।

उनीहरूले प्रेम सम्बन्ध भएको समयमा खिचिएका तस्बिर तथा भिडियोहरू सम्बन्ध बिग्रिए पश्चात् पीडितका आफन्त तथा साथीहरूलाई फेसबुकको म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको अभियोगमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले श्रीकृष्णलाई आइतबार र सरोजलाई सोमबार पक्राउ गरेको हो ।

सरोनले सहमति बिना अश्लील भिडियो खिचेर पीडितको बहिनीलाई पठाएको आरोपमा पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पीडित महिलाले दिएको उजुरीको आधारमा उनी पक्राउ परेका हुन् । 

उनीहरू उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।