Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

रवि पक्षको आज भएन बहस, अब कहिले?

रविका वकिलले भने, ‘हिजोको जस्तो आदेश हुनु भएन श्रीमान’

काठमाडौँ जिल्ला अदालतमा आज सोमबार पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएन । बहस नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौं जिल्ला अदालतमा आज पीडित र सरकारी वकिलको बहस सकिएको छ । अब पर्सी मात्रै बहस हुने भएको छ ।


भोलि मंगलबार माघे संक्रान्तिको सार्वजनिक बिदा भएकाले पर्सि मात्र बहस हुने भएको हो।यसैबीच रवि पक्षका वकिलले आज बहस नभएपछि हिजोको जस्तो आदेश गर्न नहुने माग गरेका छन् । वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस लम्बिए पनि हिजोको जस्तो आदेश हुन नहुने माग गरेका हुन् । उनले भने ‘बहस जति लम्बिए पनि लम्बयोस्, आपत्ति भएन तर हिजोको जस्तो आदेश गर्न भएन श्रीमान ।’

उनले कानूनी प्रक्रियामै गडबडी गरिएको बताएका छन् । उनले भने, ‘कास्कीको आदेशपछि प्रहरीले पक्रेर काठमाडौँ प्रहरीलाई बुझाउनु पर्ने थियो । यहाँ कानुनी प्रक्रियामै गडबडी गरिएको छ । अदालतबाट पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई आफै उपस्थित हुने छुट दिनु नै गलत थियो ।’ न्यायाधीश माधव अधिकारीको इजलासमा बहस जारी छ । अब केहीबेरमै रविलाई पुनः न्यायिक हिरासतमा पठाउने वा परिवारको जिम्मा लगाउने भन्नेबारे न्यायाधीशको आदेश आउनेछ ।