Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

रविविरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

कास्की प्रहरी हिरासतबाट हिजो (बिहीबार) मात्र छुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध मुद्दा चलाउनु पर्ने रायसहितको प्रतिवेदन बुटवल प्रहरीले बुझाएको छ । इलाका प्रहरी कार्यालय बुटवलले लामिछानेसहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको हो ।

रुपन्देहीका एसपी रन्जितसिंह राठौरले प्रतिवेदन बुझाएको पुष्टि गरेका छन् । हिजो मात्रै लामिछाने पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा ६५ लाख धरौटी रकम बुझाएर रिहा भएका थिए । उनीमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलले बिहीबार सुप्रिम सहकारीको रकम अपचलन मुद्दाको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाएको हो । कास्की प्रहरीमा अनुसन्धान भइरहेका बेला रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो ।

त्यसपछि २७ कात्तिकमा बुटवलस्थित सरकारी वकिलको कार्यालयमा पुगेर रविले बयान दिएका थिए । यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । त्यतिबेला एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।