Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

साढे तीन करोड चोरी आरोप लागेका युवालाई धरौटीमा छाड्न आदेश

आइटी कम्पनी एफ–वान सफ्टको ‘सिष्टम ह्याक’ गरी सिटिजन्स बैंकको खाताको साढे तीन करोड चोरी गरेको घटनामा संलग्न नौं युवालाई धरौटीमा छाड्न आदेश भएको छ । आज (बुधबार) काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले नौं जनालाई नै धरौटीमा छाड्न आदेश दिएको हो ।

राहुल ठाकुर र पुरूषोत्तम शाहसँग ५ लाख, दिपक थापामगरसँग ५० हजार, कमल थापा मगरसँग दुई लाख, त्रिगुणरत्न बज्राचार्य, कृष्णा रमन राउत, संजिवकुमार शर्मा, सन्देश राई र सागर कुमार साहसँग जनही एक लाख धरौटी माग गरेको हो । उनीहरूको बैंक खाता प्रयोग भई त्यस खातामार्फत रकमान्तर भएको देखिएको थियो । साइबर ब्युरोले यस घटनामा अनुसन्धान गरेर सरकारी वकिलको कार्यालय काठमाडौंमा मुद्दा पेस गरेको थियो । प्रहरीले यस घटनामा अझै पनि अनुसन्धान गरिरहेको छ ।

घटनामा संलग्न प्रमुख व्यक्तिहरूको पहिचान हुनसकेको छैन । गत बिहीबार सरकारी वकिलले काठमाडौं जिल्ला अदालतमा २४ जनाविरूद्ध प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । जसमध्ये ९ जनामात्रै पक्राउ परेका थिए । बाँकी फरार नै थिए । ह्याक गरिएको रकम उनीहरुको खातामा ट्रान्फर गरेर त्यहाँबाट विदेश लगिएको खुलेको थियो । ह्याकरको समूहले विदेशमा बसेर ह्याक गर्ने र नेपालीहरुलाई प्रयोग गरेर उक्त रकम विभिन्न माध्यबाट विदेश लाने गरेको खुलेको थियो ।