Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात

 सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मंगलबार साँझदेखि हिमपात भएको छ । तीन हजार ७९४ मिटरको उचाइमा पर्ने  तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ ।

पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित सोभन्दा माथि हिमपात भइरहेको फेदीस्थित प्रहरी चौकीका हबल्दार मिलन कटुवालले जानकारी दिए । हिमपात भए पनि जनजीवनमा सामान्य रहेको उनले बताए ।   यसपटक लामो समयपछि जिल्लाको केही ठाउँमा सामान्य वर्षा भएको हो । 

हिउँद लागेपछि लामो समयसम्म पानी नपर्दा हिउँदे बाली लगाएका किसानलाई भने समस्या भइरहेको थियो । समान्य वर्षा र हिमपात हुन सुरु भएपछि भने यसले केही राहत पुग्ने किसानले बताएका छन् । केही दिनयता चिसो बढेसँगै पाथीभरामा तीर्थयात्रीको आगमनको संख्या घटेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । 

बर्सेनि हिउँ परेपछि भने पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको छ ।