Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नक्कली इन्सपेक्टर बनी ठगी गर्ने पक्राउ

प्रहरीको नक्कली इन्सपेक्टर बनी ठगी कार्यमा संलग्न व्यक्तिहरु पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सप्तरी, कडक नगरपालिका वडा नं.१० घर भएका ३८ बर्षीय सुदीप थापा र काठमाडौं महानगरपालिका वडा नं.३२ कोटेश्वर बस्दै आएका ४४ बर्षीय किशोर कुमार रहेका छन् । 

नेपाल प्रहरीको प्रहरी निरीक्षकको पेशाको दुरुपयोग गरी नक्कली प्रहरी परिचयपत्र, विशेष बढुवा सिफारिस सूची प्रकाशित गरिएको पत्र, प्रहरी निरीक्षकको युनिफर्म लगाएको फोटो समेत खिचि विभिन्न उच्च पदस्थ व्यक्तिहरुसंग सम्पर्क रहेको भनी प्रलोभनमा पारी बैदेशिक रोजगारको लागि क्यानडा, अष्ट्रेलिया लगायतका देशमा पठाईदिन्छु भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको भन्ने गोप्य सूचनाको आधारमा टेकु कार्यालयबाट खटीएको प्रहरी टोलीले कागेश्वरी मनोहरा न.पा.वडा नं.०७ थापाचोकबाट पक्राउ गरेको हो । 

उक्त ठगी कार्यमा संलग्न सुदीप थापा र किशोर कुमार चौधरी समेत २ जनालाई नियन्त्रणमा लिई ठगी तथा लिखित सम्बन्धी कसूर (किर्ते) मुद्दामा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडांै भद्रकाली पठाईएको छ ।