Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

३० रुपैयाँ जरिवाना तोकिएका महिलासहित ३ फरार प्रतिवादी पक्राउ

सप्तरी प्रहरीले आइतवार एक महिला सहित तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटेको प्रहरी टोलीले अदालतबाट विभिन्न मुदामा फैसला भई कैद तथा जरिवाना भुक्तानी बाँकी रहेका तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये किर्ते जालसाजीका २ तथा जालसाजिका १ गरी तीन घटनामा सप्तरी जिल्ला अदालतद्धारा १०/१० रुपैयाँ दरले ३० रुपैयाँ जरिवाना गरिएको सप्तरीको तिरहुत गाउँपालिका ३ की ४५ वर्षिया सयुक्ता देवी देव पनि रहेको प्रहरीले जनाएको छ ।

२०७३ असार १९ गते सप्तरी जिल्ला अदालतले देवलाई किर्ते जालसाजीका २ र जालसाजीका १ गरी तीन वटा घटनामा संलग्न रहेको आरोपमा उक्त जरिवाना ठहर हुने फैसला गरेको थियो ।

यस्तै कुटपिट र लुटपिट मुद्दाका सोही पालिकाको वडा २ का महेन्द्र सदा र शम्भुनाथ नगरपालिका १ का लेनदेन मुद्दाका फरार प्रतिवादी महेन्द्र सदा पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी उपपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । उनीहरुबाट ६ महिना कैद र १५५ रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

ठगी आरोपमा हनुमानी पक्राउ
पैसा दोब्बर पारिदिने भन्दै रकम लिएर ठगी गरेको आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका ६ का हनुमानी नामले चर्चित ४२ वर्षिय राम बहादुर रजक छन् ।

उनीमाथि गाउँ र आसपासका दर्जनौ सोझासाझा व्यक्तिसँग रकम दोब्बर पारिदिने भन्दै रकम लिएर ठगी गरेको आरोप छ । लामो समयदेखि जिल्लामा रकम दोब्बर पारिदिने भन्दै रजकले ठगी गरिरहेको गुनासो आउन थालेपनि पिडित पक्षबाट प्रहरीमा उजुरी आएको थिएन ।

पछिल्लो पटक पिडितले जिल्ला प्रहरी कार्यालयमा उनीसहित केही व्यक्ति विरुद्ध किटानी जाहेरी नै दिएका थिए । त्यसपछि ठगी मुद्दामा सप्तरी जिल्ला अदालतबाट पक्राउ अनुमती लिई उनलाई गाउँबाटै नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

यद्यपी सोमवार अदालतमा म्याद थप पश्चात पत्रकार सम्मेलन मार्फत विस्तृत जानकारी गराउने सप्तरी प्रहरीले जनाएको छ । -राजधानी