प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रधानमन्त्री हुँदा भयानक असहयोग भएको सुनाएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्र्रो राष्ट्रिय महाधिवेशनमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्ने कर्मचारी संगठनका नेतृत्वले अपमानित र हिनताबोध हुनेगरी गाली गर्ने काम भएको बताएका थिए ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘तपाईंहरूलाई अपमानित हुनेगरी, हिनताबोध हुनेगरी गाली पनि गरे भन्नु भयो, मैले प्रधानमन्त्रीको रुपमा गाली त सुन्न परेन । तर, असहयोग भयानक मैले पनि महसुस गरेको छु ।’ उनले अहिले कर्मचारी र आफूहरू एउटै कित्तामा रहेको जिकिर गरे ।
उनले आफू पदमा हुँदा सत्तापक्ष र प्रतिपक्षबीच संवाद हुने गरेको भए पनि अहिले त्यस्तो नभएको गुनासो गरेका छन् । ‘मैले रातारात अबरपति–करोडपति बन्ने, त्यो पनि सेटिङबाट बन्ने । अलि धेरै ठूला ठूला पुँजीपति, ठूला कर्मचारी र विचौलियाहरूका बीचमा सेटिङ हुने र सेटिङबाट नियुक्ति हुने । नियक्ति नभए दबाब दिने जुन प्रक्रिया मैले झेलेको छु,’ प्रचण्डले भने, ‘अहिले सत्तापक्ष र प्रतिपक्षको बीचमा संवाद रोकिएको छ ।’
यस्तै अध्यक्ष प्रचण्डले राजनीतिक तहमा स्वच्छता कायम हुन जरुरी रहेको बताएका छन् । आज शनिबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको ७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशको स्थिति अलि गम्भीर र जटिल अवस्थामा रहेको बताए । अध्यक्ष प्रचण्डले देशमा राजनीतिक तहमा सबैभन्दा पहिला स्वच्छता कायम हुनुपर्ने बताए । राजनीतिमा राम्रो नियत र निष्ठाका साथ काम गर्ने संस्कार बसेन भने सबैतिर त्यसको नकारात्मक असर पर्ने उनको भनाइ छ । राजनीति नीतिहरुको राजा भएकाले राजनीति सफा हुनुपर्ने बताए ।
उनले भने, ‘देशमा राजनीतिक तहमा सबैभन्दा पहिला स्वच्छता कायम भएन, राम्रो नियत र निष्ठाका साथ काम गर्ने संस्कार बसेन भने सबैतिर त्यसको नकारात्मक असर पर्छ । राजनीति नीतिहरुको राजा हो भनिन्छ। त्यसकारण राजनीति सही नियतअनुसार अघि बढेन भने त्यसको नकारात्मक प्रभाव चौतर्फी पर्छ नै। हामीले त्यसको सफाइ गर्नैपर्छ ।’ सुशासन, सामाजिक न्याय र आर्थिक विकासको निम्ति सहकार्य गर्न आफू तयार रहेको उनले बताए ।