Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

ठूला दलका शीर्ष नेतृत्वविरुद्ध ठूलो आँधीबेहरी आउँदैछः बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले तीन ठूला दलका शीर्ष नेतृत्वविरुद्ध ठूलो आँधीबेहरी आउने भन्दै खबरदारी गरेका छन् । आज बिहीबार पार्टीको पालुङटार नगरपालिका नगर सम्मेलनलाई सम्बोधन गर्दै भट्टराईले मुख्य दलका शीर्ष नेतृत्वकै कारण देश रसातलमा पुगेको आरोप समेत लगाए ।

‘२०७९ को चुनाव हेर्नुभयो, त्यसयता तीन टाउकोका हर्कत देख्नुभयो, यिनले देशलाई रसातलतिर लगे,’ उनले भने, ‘जनताले विकल्प खोजेका छन्, यिनका विरुद्ध ठूलो आँधीबेहरी आउँदै छ ।’ ‘सुगौली सन्धिदेखि आँखा दह्रो राखेर सुँड घुसार्न पाइन्छ कि भन्ने शक्ति पनि छन्, यिनीहरूको भ्रष्टाचार, कुबुद्धि, मुर्खताले गर्दा देश गरिबी र यो दुष्चक्रमा पर्‍यो,’ उनले भने,‘बाह्य शक्तिले ब्वाँसो जसरी लुछ्ने प्रयत्न गरिरहेका छन् ।’

अहिलेको अवस्थामा नयाँ वैकल्पिक शक्ति बनाउनुको विकल्प नरहेको उनको भनाइ थियो । नयाँ ढंगको वैचारिक शक्ति चाहिन्छ भनेर २०७३ सालमा घोषणा गरेर अघि बढेको उनले बताए । ‘गत चुनावको संकेत देखिहाल्नुभयो, २०८४ मा ठूलो उभार आउने देखेको छु,’ उनले भने, ‘लोकतान्त्रमा आधारित समाजवादको विचारवरपरि नै अग्रगामी वैकल्पिक शक्तिको धुव्रीकरण हुन्छ ।’