प्रधानसेनापति अशोकराज सिग्देल स्वदेश फर्किएका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा रहेका सिग्देल आइतबार स्वदेश फिर्ता भएका हुन् ।

उनीसहित १० सदस्यीय टोली एअर इण्डियाको उडान नम्बर एआई २१५७ बाट नयाँ दिल्ली हुँदै केही बेरअघि काठमाडौं आइपुगेको हो ।
टोलीमा धर्मपत्नी निता क्षेत्री सिग्देल, छोरा आशुतोष सिग्देल,उपरथी अनुपजंग थापा,सहायक रथी डा.नम्रता महरा रावल,सहायक रथी पूर्णबहादुर खत्री,प्रमुख सेनानी सुरज रावत, सेनानी राजेश श्रेष्ठ,भावना थापा र रेन्कु रेग्मी छन् ।सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी प्रदीपजङ्ग केसीले स्वागत गरेका थिए ।

भारत भ्रमणको क्रममा सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित समारोहमा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन् ।

प्रधानसेनापति सिग्देलले भारतका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी,रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए । उनी यही मंसिर २६ गते भारत प्रस्थान गरेका थिए ।