सिरियामा विपक्षी सेनाले राष्ट्रपति बसार अल आसादले राजधानी दमासकस छाडेको घोषणा गरेका छन् । आसाद विमानमार्फत कुनै अपरिचित स्थानमा गएको जनाइएको छ । राजधानीलाई विद्रोहीले कब्जामा लिए पछि खुसीयाली मनाउन थालिएको छ ।
थुप्रै फुटेज र दृश्य अनुसार विपक्षीलाई कडा यातना दिइने गरेको सायडनाया जेलबाट बन्दीहरूलाई रिहा गरिएको छ । लेबनान र सिरियाको सीमामा अहिले धेरै जना जम्मा भईसकेका छन् । उनीहरू नारा घन्काइरहेका छन् । घर छाडेर भागेका उनीहरू विजयी मुद्रामा गीतसमेत गाइरहेको जनाइएको छ । डेराबाट राजधानी दमासकस पुगेको भिडियो पनि अहिले सार्वजनिक भएको छ । पूर्वी सिरियाको डियरमा पनि विद्रोही सेनाका सामु राज्यको सेनाले आत्मसमर्पण गरेको जनाइएको छ ।
यस घटनालाई अमेरिकी राष्ट्रपति जो बाइडेनले चासो पूर्वक हेरि रहेको वासिङ्टनले जनाएको छ ।अहिले राजधानी दमासकसमा आसादको शासनको अन्त्य भएको घोषणा सहित हजारौँ जनाको भिड जम्मा हुँदै गएको भिडियो पनि सार्वजनिक भएको छ । सिरियाका प्रधानमन्त्री मोहम्मद घाजी अल जलालीले आफू सिरियामा नै रहेर त्यहाँको समस्या समाधानका लागि जनताको इच्छा अनुसार चल्ने बताएका छन् ।
शनिबार राति विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएएस) ले दमास्कसतर्फ अघि बढेपछि सरकारी सेना र विद्रोहीबीच गोलाबारी सुरु भएको थियो । एचटीएएस राजधानी दमास्कस प्रवेश गरेको केहीक्षणमा नै सिरियाका राष्ट्रपति बसर अल–असदले छेश छोडेर भागेको दाबी विद्रोही समूहले गरेको छ । तर असद कहाँ गए भन्ने कसैले भन्न सकेको छैन । समाचार एजेन्सी रोयटर्सले दुई सिरियाली अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति असदले अज्ञात गन्तव्यको लागि विमानबाट दमास्कस छोडेको जनाएको छ ।
विद्रोहीहरूले सैदनाया जेलबाट हजारौं कैदीहरूलाई रिहा गरेको बताएका छन् । यस जेलमा असदका विपक्षीहरूलाई यातना दिइएको थियो । इरान समर्थित हिजबुल्लाहले केही क्षेत्रबाट आफ्ना लडाकुहरूलाई फिर्ता लिएको बताएको छ । इरान र हिजबुल्लाहले राष्ट्रपति असदलाई सहयोग र समर्थन गर्दै आएका थिए । रुसको साथ पनि राष्ट्रपति असदलाई थियो । सिरियाको तेस्रो ठूलो सहर होम्स कब्जा गरेपछि विद्रोही समूह एचटीएएस शनिबार राति राजधानी दमास्कस प्रवेश गरेका थिए ।
इस्लामिक विद्रोही समूह एचटीएएसले राजधानी दमास्कसमा प्रवेश गरी सिरियालाई स्वतन्त्र घोषणा गरेको छ । विद्रोहीहरूले राष्ट्रपति बसर अल असदले देश छोडेको दाबी गरेका छन् । यसैबीच विपक्षी नेता हादी अल बहराले दमास्कस सुरक्षित रहेको बताएका छन् ।