Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

गगन लक्षित देउवाको टिप्पणीः धेरै बोल्नेले आफूलाई सिध्याउँछ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई लक्षित गर्दै धेरै बोल्नेले आफूलाई सिध्याउने तर, कम बोल्नेले अरुलाई सिध्याउने टिप्पणी गरेका छन् ।

आज शनिबार विराटनगरमा आयोजित नेपाली कांग्रेसको प्रथम कोशी सम्मेलनलाई सम्बोधन गर्दै देउवाले यस्तो टिप्पणी गरेका हुन् । सम्मेलनलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले सभापति ‘धेरै नबोल्नु हुने भएकाले उहाँको समय पनि लिएर केहि बढी बोलेको’ बताएका थिए ।

देउवाले स्थानीय तह सबै भन्दा महत्वपूर्ण भएकाले स्थानिय तहमा मिहिनेत गर्न कार्यकर्तालाई निर्देशन दिए । उनले तीन तहको संरचना मध्ये सबै भन्दा महत्वपूर्ण संरचना स्थानिय तह भएकाले स्थानिय तहमा बलियो हुने पार्टी मात्रै बलियो हुने स्पष्ट पारे ।

देउवाले भने ‘ग्रासरुटलाई मजवुद बनाउने पार्टी मात्रै बलियो हुने भएकाले स्थानिय तह, वडा र टोलमा पार्टीलाई बलियो बनाउन आजैदेखि मिहिनेत गर्नुहोस् ।’ देउवाले राजनीतिक स्थायित्वका लागि गठबन्धन महत्वपूर्ण रहेको बताए । उनले प्रधानमन्त्री ओलीले राम्रो काम गरिरहेको भन्दै प्रशंसा समेत गरेका छन् । देउवाले कांग्रेस ऋणको विरोधी नभएको स्पष्ट पार्दै अन्य देशहरूबाट ऋण नलिने गरेकाले विआरआई अन्तर्गतका परियोजनामा ऋण लिन नहुने अडान लिएको स्पष्ट पारे ।