Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया शुरु, मुख्यमन्त्रीमा दाबि गर्न आव्हान

कर्णाली प्रदेशमा प्रदेश प्रमुखले नयाँ सरकार गठनको आव्हान गरेका छन् । शनिबार प्रदेश प्रमुख यज्ञराज जोशीले मुख्यमन्त्री यामलाल कँडेलको राजीनामा स्वीकृत गर्दै मुख्यमन्त्री पदमा बहुमतको दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूलाई साउन १२ गते अपराह्न ५ बजेसम्मको समय दिएका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुखको कार्यालयले भनेको छ-  'मुख्यमन्त्री यामलाल कडेलज्यूले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम आज मिति २०८३/०४/०९ गते साझ ५:०० बजे दिनु भएको लिखित राजिनामा आज मिति २०८३/०४/०९ गते देखि लागु हुने गरि स्वीकृत भएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कर्णाली प्रदेश सभाका सदस्यलाई मिति २०८३/०४/१२ साँझ ५:०० बजे भित्र कर्णाली प्रदेशको मुख्यमन्त्री पदको लागी दाबी पेश गर्न माननीय प्रदेश प्रमुखज्यु बाट आव्ह्वान भएको ब्यहोरा यो सूचना मार्फत जानकारी गराइन्छ ।'

मुख्यमन्त्री कँडेलले शनिबार नै प्रदेशसभामा सम्बोधन गर्दै पदबाट राजीनामाको घोषणा गरेका थिए । त्यसपछि प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले राजीनामापत्र बुझाएका हुन् । कर्णालीमा सरकार बनाउन नेकपा एमाले र नेकपाबीच सहमति भएको छ । जस अनुसार कर्णालीमा नेकपाले सरकारको नेतृत्व गर्ने भएको छ ।

जस अनुसार नेकपाका संसदीय दलका नेता मंगल शाही मुख्यमन्त्री बन्ने सम्भावना रहेको बताइएको छ ।