Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रविजीलाई रातारात पोखरा लगिनु अमानवीय कार्यः शेखर कोइराला

सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रारातारात चितवनबाट पोखरा लगिएकोमा असन्तुष्टि जनाएका छन् । आज शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले लामिछानेलाई राति १२ बजे स्थानान्तरण गर्नु अमानवीय व्यवहार भएको बताए ।

कोइरालाले भने, ‘अदालतको न्यायिक प्रक्रियामा कुनै टिप्पणी गर्न हुँदैन । तर, राति १२ बजे उठाएर लानु मानव अधिकारविरोधी र अमानवीय काम हो । यो रविजीको मात्र कुरा होइन, कसैलाई पनि यस्तो गर्नु हुँदैन ।’ सहकारी प्रकरणमा पक्राउ परेका लामिछानेलाई प्रहरीले मंसिर १९ गते राति चितवनबाट पोखरा लगेको थियो। प्रहरीले सुरक्षाको कारण देखाए पनि कोइरालाले प्रशासनले यसरी उम्कन नपाउने बताए । नेपाली कांग्रेस मानव अधिकार र लोकतन्त्रप्रति प्रतिबद्ध पार्टी भएको उल्लेख गर्दै उनले सबै पक्षले अदालतको प्रक्रियामा सहकार्य गर्नुपर्ने धारणा राखे ।

नेता कोइरालाले पार्टीले मोरङमा आयोजना गरिएको पालिकास्तरीय भेलालाई रोक्न पठाएको पत्रप्रति असहमति जनाएका छन् । सोही कारणले उनले कोशी भेलामा भाग नलिएको बताए । ‘१३७ पालिकामध्ये ११३ पालिकाका सभापतिहरू सहभागी भेलालाई अवैधानिक भन्दै केन्द्रले पत्र पठाउनु कस्तो परिपाटी हो रु नेपाली कांग्रेस रेजिमेन्टेड पार्टी होइन । यो एमाले जस्तो, अध्यक्षले भनेको मान्ने पार्टी पनि होइन’, उनले भने ।

महाधिवेशनको समय नजिकिँदै गर्दा सभापतिको उम्मेदवार हुने स्पष्ट गर्दै कोइरालाले महामन्त्री गगन थापासँग कुनै खटपट नभएको दाबी गरे । ‘महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्य सबैलाई उम्मेदवारी दिने अधिकार छ । म उठ्ने कुरा क्लियर छ । गगनजी उठ्ने विषय उहाँलाई सोध्नुस् । बाँकी कुरा छलफलबाट टुंगो लाग्छ’, उनले भने ।