Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

ललितपुर महानगरले स्वास्थ्य क्षेत्रमा सबैले सिक्न योग्य काम गर्नुपर्छः चिरीबाबु महर्जन

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले स्वास्थ्य क्षेत्रमा सबैले सिक्न योग्य हुनेगरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।


विश्व स्वयंसेवक दिवसका अवसरमा महानगरद्वारा आज यहाँ आयोजित २५औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसमा बोल्दै उहाँले महिला स्वास्थ्य स्वयंसेविकाहरुले उत्कृष्ट काम गरेको बताए । उनले स्वास्थ्य स्वयंसेविकाहरुका लागि प्रत्येक वर्ष कुनै न कुनै काम गरिरहेको उल्लेख गरे ।

‘तपाईंहरुको हरेक कामको मूल्याङ्कन हुन्छ, यस वर्ष स्वयंसेवक कोषमा नौ लाख रुपैयाँ जम्मा गरिदिनेछौं’, प्रमुख महर्जनले भने । उनले दिगो विकास लक्ष्य २०३० को उपलब्धि हासिल गर्न बालबालिकाको मृत्युुदर र मातृ मृत्युदर कम गर्न स्वयंसेविकाहरुलाई जिम्मेवारीपूर्वक लाग्न आग्रह गरे । महानगरका प्रवक्ता, सामाजिक विकास समितिका संयोजक एवं वडा नं ९ का अध्यक्ष राजु महर्जनले सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले समाजलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा। भुवन पौडेलले मातृमृत्युदर र बालमृत्युदर घटाउने महत्वपूर्ण भूमिकामा स्वास्थ्य स्वयंसेविकाहरु रहेकाले उनीहरुलाई उत्साहित र प्रोत्साहित गरेर अझै सुधार ल्याउनुपर्ने बताए ।ललितपुर महानगर जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले पछिल्लो समयमा स्वयंसेविकाहरुले आमा र बच्चाको स्वास्थ्यमात्रै नभई दीर्घरोगका बारेमा समेत चेतना जगाउँदै सजग बनाएको बताए । ललितपुर महानगरमा हाल एक सय ८७ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।