Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कुलमानको कार्यालयमा मन्त्रीले कार्यकक्ष बनाएकोमा माओवादीको आपति

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यालयमा मन्त्रीले कार्यकक्ष बनाएर बसेकोमा आपति जनाएको छ ।

आज बिहीबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको तर्फबाट विरोध जनाएका हुन् । उनले विद्युत प्राधिकरणले लाइन काट्ने कुरा गर्दा मन्त्रीले कार्यकक्ष नै बनाएर बस्न उचित नरहेको प्रतिक्रिया दिएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बुधबार प्राधिकरणको कार्यालयमा कार्यकक्ष बनाई बसेका थिए । सोही विषयलाई लिएर माओवादी केन्द्रले विरोध जनाएको हो । माओवादी केन्द्रले सरकारले विद्युत प्राधिकरणले गरेको काममा अवरोध सिर्जना गरेको आरोप समेत लगाएको छ ।

यद्यपि विद्युत प्राधिकरणको अध्यक्ष भने ऊर्जामन्त्री रहने व्यवस्था छ । उनले सरकार बिचौलियालाई जोगाउने, भ्रष्टाचारीलाई जोगाउने काममा लागेको आरोप लगाए । उनले थपे, ‘विद्युत प्राधिकरणले जुन लाइन काट्ने कुरा गरिरहेको छ । त्यसमा मन्त्रीले नै अनौठो इतिहासमै कहले नभएको कुरा विद्युत प्राधिकरणमा नै कार्यकक्ष खोलेर बसेर त्यहाँ जुन विद्युत प्राधिकरणले गरेको काममा अवरोध सिर्जना गर्ने काम गरेको छ ।

यस अर्थमा वास्तवमा सरकारले विचौलियालाई जोगाउने, भ्रष्टाचारीलाई जोगाउने काम गरिरहेको छ । यसका विषयमा पनि व्यवस्थित ढंगले हामी खबरदारी सभामार्फत गर्नेछौँ ।’ बैठकले हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको समीक्षा, पालिका सम्मेलन र खबरदारी सभाको बारेमा छलफल गरेको प्रवक्ता सापकोटाले बताए ।