Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका अध्यक्ष शर्मा माओवादी केन्द्रमा प्रवेश

नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका केन्द्रीय अध्यक्ष मनोज शर्मा ढोडारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उनलाई खादा लगाएर पार्टी प्रवेश गराएका हुन्।

शर्मालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन एकता र ध्रुवीकरणको प्रक्रियामा अघि बढेकाले विभिन्न घटकहरुसँग एकता प्रक्रिया सुरु भएको बताए। व्यक्तिगतरुपमा ध्रुवीकृत हुने क्रम पनि बढेको भन्दै उनले यसले आगामी यात्रालाई थप सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

प्रवेश गरेका शर्माले माओवादी स्कुलिङबाट विभिन्न ठाँउमा छरिएकाहरु सबैलाई समेटेर विशाल पार्टी बनाउने अभियानमा सहयोग पुर्याउन आफू माओवादी केन्द्रमा गोलबद्ध भएको बताए ।

दुई दशकभन्दा बढी पत्रकारितामा सक्रिय शर्मा नेपाल पत्रकार महासंघको केन्द्रीय प्रशिक्षण समितिको सदस्य भएर काम गरिसकेका छन् । 

प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ, पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यलगायतको उपस्थिति थियो ।