Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रोल्पाको रून्टीगढी–४ मा कांग्रेसका भूपमणि निर्वाचित

रोल्पाको रून्टीगढी गाउँपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट भूपमणि पुन मगर निर्वाचित भएका छन् । तर निर्वाचन आयोगको कार्यालयले भने औपचारिक घोषणा गर्न बाँकी नै छ ।कांग्रेसका मगरले ६४३ मत प्राप्त गरी निर्वाचित भएका जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाले जनाएका छन्।


उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेबाट बेगम पुन मगरले ५३५ मत पाएका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेशजंग सिंहले ७० मत पाए । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार पहलबहादुर वलीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमबहादुर पुनले ७ र मंगोल नेसनल अर्गनाइजेसनबाट पूर्णबहादुर बुढा मगरले पनि ७ मत पाएको प्रदेश निर्वाचन कार्यालय दाङका कम्प्युटर अप्रेटर गेहेन्द्र कुँवरले जानकारी दिएका छन् । 

२०७९ सालमा पनि यहाँ कांग्रेसकै टंकबहादुर पुन निर्वाचित भएका थिए । उनको मृत्यु भएपछि पुनः निर्वाचन भएको हो। अहिलेको उपनिर्वाचनमा यहाँ झण्डै ६० प्रतिशत मत खसेको थियो ।

कुल एक हजार ९ सय मतदाता रहेकामा एक हजार दुई सय ९७ मत खसेको थियो । त्यस्तै २१ म्त बदर भएको बताइएको छ ।