Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

काठमाडौं–१६ः प्रहरीले ८५ वर्षका मतदातालाई बोकेरै पुर्‍याए मतदानस्थल

विभिन्न ४१ पदका लागि भइरहेको उपनिर्वाचनमा युवामा मात्र होइन प्रौढहरु पनि सक्रिय सहभागी भइरहेका छन् । मतदानका लागि योग्य १८ वर्षमाथि युवाहरु आफै हिंडेर टाढाको मतदान केन्द्रसम्म पुग्न सक्छन् । तर, प्रौढहरुलाई भने मतदान केन्द्रसम्म पुग्न सकस समेत पर्ने गर्छ । तर, प्रौढहरुलाई मतदानका लागि केन्द्रसम्म पुर्‍याउनका लागि विभिन्न व्यवस्था गरिएका छन् ।  

प्रौढहरुलाई मतदानस्थलसम्म पुर्‍याउन प्रहरीले समेत भूमिका निर्वाह गर्दै आएको छ । ‘प्रहरी मेरो साथी’ भन्ने उदाहरणलाई चरितार्थ गरेको दृष्य आज आइतबार काठमाडौंको वडा नम्बर–१६ को एक मतदान केन्द्रमा देखिएको छ । काठमाडौँ महानगरपालिका–१६ मा पर्ने सरस्वती बहुमुखी क्याम्पसमा जारी स्थानीय तह उपनिर्वाचनमा जारी रहेका बेला सोही क्षेत्रका मतदाता श्यामलाल प्रधान आफै हिँडेर मतदान स्थल जान सकेनन् ।

उमेरले ८५ काटेका श्यामलाल मतदानस्थल जानका लागि कठीन भइरहेका बेला सोही क्षेत्रमा ड्युटीमा रहेका प्रहरी साथी बनेर खटिएका छन् । उनी हुन्, नेपाल प्रहरीका सहायक हवल्दार भुवन श्रेष्ठ । आफै राम्रोसँग हिँड्न नसकेका श्यामलाल उनै सहायक हवल्दार श्रेष्ठको सहायताले मतदान स्थल पुगे र मतदान गरेका छन् ।