राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि आज आइतबार पनि काठमाडौंस्थित जिल्ला सरकारी वकिल कार्यालय पुर्याइएको छ । गत शुक्रबार बयान नसकिएकाले उनलाई आज पनि उपस्थित गराइएको हो ।
पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि कास्की प्रहरीको हिरासतबाट काठमाडौं ल्याइएको हो ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले मंसिर २ गते लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । लामिछानेमाथि कास्कीमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
यस्तै बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि जोडिएका लामिछानेलाई यसअघि रूपन्देही जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लगिएको थियो । लामिछानेलगायत विरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।