Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

गोरखा–५ मा वडाअध्यक्ष चयनका लागि धमाधम मतदाता

गण्डकी प्रदेशभर एक मात्र उपनिर्वाचन भएको गोरखा नगरपालिका–५ को वडाअध्यक्ष पदका लागि आइतबार बिहानैदेखि मतदान चलिरहेको छ ।

गोरखकाली आधारभूत विद्यालय र शिवशक्ति आधारभूत विद्यालय मतदान केन्द्रमा बिहान निर्धारित समयदेखि नै मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत शिववहादुर रानाभाटले जानकारी दिए ।

दुई केन्द्रमा गरी दुई हजार दुईसय २५ जनाले मतदान गर्दैछन् । शिवशक्ति आधारभूत विद्यालय केन्द्रबाट १ हजार ५०१ जना मतदाता र गोरखकाली आधारभूत विद्यालयबाट ७ सय २४ मतदाताले मतदान गर्दैछन् । निर्वाचन आयोगको कार्यतालिकाअनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म हुने उनले बताए ।

यसअघिका वडाध्यक्ष स्व। खिलबहादुर रानाको २०७९ साल कात्तिक १० गते निधन भएपश्चात रिक्त रहेको वडाध्यक्ष पदमा उपनिर्वाचन  भएको हो । चुनावमा नौ दलका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ ।