Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कसैले चाहेर पनि संविधानको मूलभूत विषयमा संशोधन हुँदैनः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठूला दलको सात बुँदे सहमतिलाई संस्थागत गर्न नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच राजनीतिक संयन्त्र बनेको बताएका छन् । 

विराटनगर विमानस्थलमा आज पत्रकारसँगको भेटघाटमा उनले संविधान संशोधनको विषयमा पहिले नेपाली कांग्रेस र एमालेबीच साझा धारणा बन्ने र त्यसपछि अन्य दलहरुसँग छलफल गर्ने योजना रहेको बताए ।

उनले कसैले चाहेर पनि संविधानको मूलभूत विषयमा संशोधन नहुने तर्क गर्दै संविधान संशोधनका सन्दर्भमा जिम्मेवार सबै राजनीतिक दलसँग सौहाद्र्रपूर्ण वातावरणमा छलफल गरी आवश्यक निर्णय लिइने स्पष्ट गरे। महामन्त्री थापाले भने, ‘नेपाली कांग्रेसले संविधानको मर्म र भावना एवं पञ्चशीलको सिद्धान्तअनुसार सबै राष्ट्रसँग मित्रवत् सम्बन्ध राख्नेछ।’

उनले वीआरआई नयाँ सम्झौता नभई पुरानै भएकाले सो सम्झौतालाई अब टुङ्गोमा पुर्‍याउनु पर्नेमा जोड दिए ।वीआरआईका सन्दर्भमा उठ्ने गरेको आशंका र अनावश्यक हल्ला चिर्न प्रधानमन्त्रीको आसन्न चीन भ्रमण सफल हुने विश्वास व्यक्त गर्दै महामन्त्री थापाले भने, ‘विकासका लागि ठूलो पुँजीको आवश्यकता पर्ने भएकाले हाम्रा मित्र राष्ट्रहरुबाट अहिलेलाई ऋण नभई अनुदान सहयोगको अपेक्षा राखेका छौँ ।’ 

एक प्रश्नको जवाफमा महामन्त्री थापाले स्थानीय तहको आसन्न उपनिर्वाचनमा यसअघिको तुलनामा नेपाली कांग्रेसले राम्रो परिणाम ल्याउने दाबी गरे ।