Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी दर्जा प्रदान (फोटोफिचर)

भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ। बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले द्विवेदीलाई मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन् ।

kp sharma oli priminister2(1).jpg

नेपालका सेनापति भारतीय सेनाको मानार्थ सेनाध्यक्ष र भारतीय सेनाध्यक्ष नेपालका मानार्थ महारथी रहने चलन छ । भारतीय सेनाध्यक्ष द्विवेदी चार दिने भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका थिए । यसअघि प्रधान सेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी बीच दुई देशका सैनिकबीच पारस्परिक साझेदारी र हितमा केन्द्रित रहेर सैनिक मुख्यालय जङ्गी अड्डामा द्विपक्षीय वार्ता भएको थियो । 

वार्ताका क्रममा नेपाली सेनाको कार्य जिम्मेवारी र सम्पादन गर्दै आएका कार्य बारेमा संक्षिप्त जानकारी प्रस्तुत गरिएको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए । त्यसअघि भारतीय स्थल सेनाध्यक्ष द्विवेदीले उनको सम्मानमा नेपाली सेनाद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको थियो । त्यसअवसरमा भारतीय सेनाध्यक्षले जङ्गी अड्डा परिसरमा वृक्षरोपण गरेका थिए ।

kp sharma oli priminister.jpg

गत १६ असारमा सेनाध्यक्ष नियुक्त भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल  भ्रमण हो । भोलि  प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सन् १९५० देखि नेपाल र भारतबीच एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ । यसअघि भारतका तत्कालीन राष्ट्रपति रामनाथ कोविंदले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका थिए । त्यस्तै भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ भदौ २० गते नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेकी थिइन् ।     

सन् १९५० मा भारतका सेनाध्यक्ष जनरल केएम परिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो भने २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पनि पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीबाट सुशोभित गरिएको थियो । छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले सम्बन्धलाई सुमधुर तुल्याउन र सौहार्दता कायम राख्न एउटा महत्वपूर्ण कडीका रुपमा भूमिका खेल्ने विश्वास गरिएको छ । प्रधान सेनापति सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष द्विवेदी पाँच दिवसीय नेपाल भ्रमणका क्रममा बुधबार अपराह्न काठमाडौँ आएका हुन् ।