कैलालीका किसान व्यावसायिक च्याउ खेतीमा आकर्षित भएका छन् । अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्ये आम्दानी हुने भएकाले उनीहरूको यसमा आकर्षण बढेको हो ।
धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउ खेतीबाट प्रशस्त आम्दानी गर्दै आएका छन् । उनले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउखेती गर्दै आएका हुन् । चार वर्षअघि ६० हजार लगानीमा एउटा टनेलबाट च्याउखेती थालेका उनले हाल पाँच वटा टनेलबाट च्याउ उत्पादन गर्दै आएका छन् ।
पाँच वटा टनेलबाट उत्पादन भएको च्याउ विक्रीबाट सबै खर्च कटाएर छ महिनामा छ लाख बचत हुने उनले बताए । उनले भने, ‘हिउँदका छ महिना मात्रै च्याउ उत्पादन गर्छु ।
‘किङ्ग ओइस्टर’ च्याउ उत्पादन गर्दै आएको छु । यो च्याउ प्रतिकिलो दुई सयदेखि दुई सय पचासमा बिक्री हुने गरेको छ ।’ ‘बजारको मागअनुसार आपूर्ति गर्न सकेको छैन’, उनले भने, ‘प्रतिदिन ७० देखि ८० केजी च्याउ बिक्री गर्दै आएको छु ।’
च्याउखेतीमा लगानी कम र आम्दानी बढी हुने उनी बताउँछन् । उनले भने, ‘यसमा लगानी कम भए पनि मेहनत बढी चाहिन्छ । चार जनाको परिवार छ,घर खर्च चलेको छ । पराल काट्ने मेसिन, मिनिटिर च्याउ बेचेर किनेको छु ।’
च्याउखेती विस्तार गर्दै जाने आफ्नो योजना उनले सुनाए । यसैगरी, गोदावरी नगरपालिका–८ फकलपुरकी राजकुमारी चौधरीले पनि सात व्यावसायिक रूपमा च्याउखेती गरेका छन् । च्याउ बिक्रीबाट खर्च कटाएर वार्षिक दुई लाख बचत हुने गरेको उनले बताए । उनले भने, ‘च्याउ खेतीबाट छोटो समयमा प्रशस्त आम्दानी गर्न सकिन्छ ।’
च्याउ बिक्रीमा कुनै समस्या नभएको बरु माग धान्न कठिन भएको उनको अनुभव छ । च्याउसँगै डेढ कठ्ठा जग्गामा सागसब्जी पनि लगाएकी उनले त्यसबाट वार्षिक रु एक लाख बचत गर्दै आएको बताइन ।