Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कीर्तिपुरको मेयरमा माओवादी केन्द्रबाट शिवशरण महर्जनको उम्मेदवारी

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको मेयर पदमा प्रा।डा। शिवशरण महर्जनको उम्मेदवारी दर्ता गराएको छ । आउँदो मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि माओवादी केन्द्रबाट महर्जनले आज उम्मेदवारी दर्ता गराएका हुन् । 

माओवादीले कीर्तिपुर नगरपालिका–४ को अध्यक्षमा नारायण विष्टको उम्मेदवारी दर्ता गराएको छ । वडा नम्बर १ मा भने जसपाका सरल गोपाल महर्जनलाई समर्थन गरेको छ । कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर, राप्रपाका ध्रुव महर्जन र नेसपाबाट दिलकुमार महर्जनले उम्मेदवार दर्ता गराइसकेका छन् । एकीकृत समाजवादीले आफूले उम्मेदवारी नदिने भएको छ । उक्त दलले माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेको छ ।

आउँदो मंसिर १६ गते जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ । मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छ भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने निर्वाचन तालिका छ ।