Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

नेकपा बहुमतले गर्‍यो स्थानीय तह उपनिर्वाचन बहिष्कार

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले आसन्न स्थानीय तह उपनिर्वाचन बहिष्कार गरेको छ । पार्टी महासचिव कञ्चनले आज एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचन बहिष्कार गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । ‘विभिन्न कारणले रिक्त रहेका देशका केही स्थानीय निकायहरूमा यही मंसिर १६ गते उपनिर्वाचनको मिति निर्धारण गरिएको छ।

यो चुनाव पनि विगतका संसदीय चुनावहरू जस्तै जनताको सेवा गर्ने नारा भित्र संसदीय दलाल पुँजीवादी व्यवस्थालाई संस्थागत गर्ने, आमूल परिवर्तनको मुद्दालाई धूमिल बनाउने, जनतामाथि शोषण उत्पीडन गर्ने संयन्त्रलाई मजबुत बनाउने र सारमा भन्दा लेलिनले भन्नु भएझैं ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने’ एकाधिकार पुँजीवादको दलाली गर्ने प्रपञ्च मात्र हो । तसर्थ पालिकातहमा हुने उक्त उपचुनावलाई बहिष्कार गर्न सम्बन्धित जिल्ला कमिटीहरूलाई पार्टी केन्द्रीय कार्यालय निर्देशन गर्दछ । साथै आम जनतालाई पनि बहिष्कारको लागि अपिल गर्दछ’, विज्ञप्तिमा भनिएको छ । 

देशमा पुँजीवादी व्यवस्था रहने छ तबसम्म त्यस अन्तर्गत हुने कुनै पनि चुनावले केवल पुँजीवादको सेवा मात्र गर्ने, जनतामाथि उत्पीडन थोपर्ने र नेपाल जस्तो नवऔपनिवेशिक देशमा दलाल पुँजीवादलाई संस्थागत र मजबुत बनाउने काम मात्र गर्ने पार्टीको बुझाइ छ । 

विज्ञप्तिमा थप भनिएको छ, ‘हाम्रो पार्टीले देशको जटिल राजनीतिक अवस्थालाई गम्भीर तरिकाले नियाली रहेको छ । नेपाली जनता माथि थोपरिएको दलाल पुँजीवादी उत्पीडन, नवऔपनिवेशिक पराधीनता र यसले सृजना गरेको राजनीतिक अस्थिरताले देशलाई विष्फोटक अवस्थामा पुर्‍याईरहेको छ । यो अवस्थालाई एकातिर पश्चगामी शक्तिहरूले पुरानो अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा फर्काउन उपयोग गर्ने अधिकतम कोशिस गर्नेछन् भने यथास्थितिवादीहरू यही दलाल पुँजीवादी व्यवस्थालाई नै संस्थागत गर्न उद्धत रहनेछन् । हाम्रो पार्टी जनताको सशक्त आन्दोलनद्वारा वर्तमान पुँजीवादी व्यवस्था र यस अन्तर्गतको दलाल संसदीय राजनीतिक प्रणालीको अन्त्य गरी समाजवादी गणतन्त्र स्थापना गर्न ‘स्वाधीन संयुक्त सरकार’ निर्माणको दिशामा अघि बढ्न सम्पूर्ण देशवासीमा हार्दिक अपिल गर्दछ ।’

big(1).jpg