Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

फेरि बन्ने सरकार माओवादी केन्द्रकै होः प्रचण्ड

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमाले भ्रष्टाचारीलाई जोगाउनकै लागि मिलेको भन्ने प्रष्ट भइसकेको बताएका छन् । माओवादी काभ्रे–काठमाडौं सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको विरोध गर्नेहरुलाई सरकारले केही न केही बहानामा दबाउनै केन्द्रित रहेको आरोप लगाए ।

उनले भने, ‘हामीले सरकारमा हुँदा सामाजिक न्याय र सुशासनको पक्षमा केही रेकर्ड बनाउने कोशिस ग¥यौं । त्यही कोशिस गरे बापत अहिले हामी सरकार बाहिर आउने, हामीले भ्रष्टाचारविरुद्ध अभियान चलाएवापत भ्रष्टाचारीहरुलाई जोगाउनकै लागि अप्राकृतिक ढंगले पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाएका छन् । यहाँसम्म आउँदा उनीहरुको उद्देश्य सुशासन होइन, भ्रष्टाचारीहरुलाई रक्षा गर्ने र त्यसका विरोध गर्नेहरुलाई कुनै न कुनै रुपले दमन गर्नेतिर केन्द्रित छन् ।’

उनले अहिले सरकारबाट बाहिरिएपछि माओवादीलाई चुनौतीसँगै अवसर प्राप्त भएको बताएका छन् । प्रचण्डले भने, ‘हामीले कांग्रेस र एमाले जस्ता संसदवादी र प्रतिक्रियावादीहरुसँग मिलेर सरकार बनाउँदा हामीमा पनि कहीँ न कहीँ फोहोर हामीसित पनि केही आएकै छ । त्यसलाई पखाल्न पनि नयाँ आन्दोलनमा जानैपर्छ । नयाँ समीक्षा गर्नैपर्छ ।’ अध्यक्ष प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादीकै नेतृत्वमा सरकार बन्ने दाबी गरे ।

उनले यो सरकार तलमाथि भएमा आफूहरुकै सरकार बन्ने बताए । ‘यही हलमा हो मैले ३२ को संख्यालाई जादुको संख्या भयो भनेको थिएँ, मेरो भनाइले उनीहरुले उद्धेलित र तरंगित भए होलान् । मैले त्यो नभनेको भए पनि हुन्थ्यो होला’, प्रचण्डले थपे, ‘अहिले पनि हाम्रो संख्या म्याजिक नै छ । किनभने हामी ३२ भएको हुनाले प्रमुख विपक्षी दलको नेता छ हाम्रो पार्टी त्यो भनेको गभरमेन्ट इन वेटिङ हो, पर्खिराखेको सरकार भन्छ । यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो त्यसैले चिन्तित हुने कुरा छैन ।’