Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रास्वपा सभापति लामिछानेलाई आज पोखरा फर्काइँदै

रुपन्देही प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज शुक्रबार कास्की पोखरा फर्काइने भएको छ ।  सहकारी ठगी र संगठित अपराधको कसुरमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आज रुपन्देहीबाट पोखरा पठाउन लागिएको हो । 

मंगलबार बयानका लागि कास्कीबाट रूपन्देही  पुर्‍याइएका रविलाई बयान सकिएसँगै शुक्रबार कास्की नै फिर्ता गर्न लागिएको हो । लामिछानेलाई बुद्ध एयरको जहाजमार्फत कास्की पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी डिएसपी लक्ष्मी खनालले जानकारी दिइन् । बिहान ७ः४० फ्लाइट रहे पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मौसम सफा नभएका कारण ढिलाइ भएको उनले बताएकी छन् ।

रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको  बचत हिनामिनाबारे अनुसन्धानका लागि लामिछानेलाई भैरहवा लगिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयमा तीन दिन गरी झण्डै साढे २३ घण्टा बयान लिइएको थियो । मंगलबार ५ घण्टा, बुधबार झण्डै ८ घण्टा र बिहीबार झण्डै १० घण्टाको बयानमा लामिछानेलाई ७४ वटा प्रश्न सोधिएको थियो ।

लामिछानेसँग जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलको कार्यकक्षमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक विजयराज पण्डित र अन्य अनुसन्धान अधिकृतहरूले बयान लिएका थिए । लामिछानेसँग तीन दिनसम्म गोर्खा मिडिया र सहकारीको रकम हिनामिनासँग सम्बन्धित ७४ वटा प्रश्न सोधिएको प्रहरीले जनाएको छ । अधिकांश प्रश्नमा लामिछानेले आफूलाई कुनै पनि जानकारी नभएको जबाफ दिएको बयानमा संलग्न अनुसन्धान अधिकृतले जानकारी दिएका छन् । 

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा कात्तिक २ गते पक्राउ परेका लामिछाने बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनामा समेत संलग्न रहेको भन्दै बयानका लागि रूपन्देही ल्याइएको हो । सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रूपैयाँ लामिछानेकै नाममा र १४ करोड २९ लाख रूपैयाँ उनी प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न व्यक्तिमार्फत पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहामा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारीबाट २०७७ चैत १८ गते लामिछानेका नाममा २ करोड ऋण लिइएको अनुसन्धानबाट खुलेको छ । त्यसमध्ये ४ लाख सेवाशुल्क कटाएर १ करोड ९६ लाख रूपैयाँ लामिछानेको नामबाट गोर्खा मिडिया नेटवर्कमा जम्मा गरिएको छ । लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक रहेका बेला रोशनी गुरूङका नामबाट ग्लोबल आइएमई बैंकमा उक्त रकम जम्मा भएको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलले तयार गरेको पूरक अनुसन्धान प्रतिवेदनअनुसार लामिछानेका नाममा प्रवाह गरिएको ऋणको भौचर सुप्रिम सहकारीका व्यवस्थापक सागर केसीले सदर गरेका थिए । गुल्मीको मालिका गाउँपालिका–८ घर भएका ३० वर्षीय केसी अहिले फरार छन् । रकम जम्मा गर्ने रोशनी यसअघि नै पक्राउ परेर अदालतबाट धरौटीमा रिहा भइसकेकी छन् । सहकारीका अध्यक्ष ओमप्रकाश गुरूङ भने पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन् ।

सुप्रिम सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड रूपैयाँमध्ये झण्डै ७८ करोड सुप्रिम सहकारीबाट गैरकानुनी रूपमा विभिन्न संघ–संस्थामा लगेर खर्च गरेको पाइएको छ । संस्थाका पूर्व अध्यक्ष तथा अहिलेका संरक्षक गितेन्द्रबाबु ९जिबी० राई, तत्कालीन सचिव दीपेश पुन, व्यवस्थापक सागर केसीसहित ३२ जनाभन्दा बढी व्यक्तिले अनधिकृत रूपमा रकम लगेर खर्च गरेको अनुसन्धानबाट खुलेको छ ।

सुप्रिम सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम हिनामिनाका सम्बन्धमा अनुसन्धानका लागि लामिछानेसहित १२ जनालाई पक्राउ गर्न जिल्ला अदालत रूपन्देहीले गत कात्तिक ८ गते अनुमति दिएको थियो । यसअघि पनि बुटवलबाटै मुद्दाको अनुसन्धान भइरहेको र संसदीय छानबिन विशेष समितिको प्रतिवेदनका आधारमा लामिछाने र गोर्खा मिडियाका उपाध्यक्षसमेत रहेका पूर्व डिआइजी छविलाल जोशीसहित १२ जनालाई पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलले अदालतसँग अनुमति मागेको थियो ।

जोशीलाई यसअघि नै रूपन्देही ल्याएर जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइसकिएको छ । सहकारी ठगी प्रकरणमा गत असोज ६ गते पक्राउ परेका जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।प्रहरीले यसअघि गरेको छानबिनमा जोशीसहित गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष जिबी राई र सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरूङसहित २८ जनाविरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो ।

तीमध्ये सहकारीका अध्यक्ष गुरूङ पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन् भने सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा भइसकेका छन् । सहकारीका पूर्वअध्यक्ष तथा संरक्षक राईसहित अन्य व्यक्ति भने फरार छन् । कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई अनुसन्धानका लागि जिल्ला अदालत कास्कीले पछिल्लोपटक गत आइतबार १३ दिनको म्याद थप गरिदिएको थियो । अदालतबाट १३ दिनको म्याद थप गरी कास्की प्रहरीले बयानका लागि रूपन्देही पठाएको थियो ।