Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रविको रुपन्देहीमा आज अन्तिम बयान लिइँदै, अब कता लगिन्छ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आज बिहीबार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा तेस्रो दिनको लिखित बयान लिइँदै छ । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि रुपन्देहीको भैरहवा ल्याइएका लामिछानेको बिहान सवा १० बजेबाट बयान लिइने भएको छ ।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बिहान कार्यालय खुलेसँगै बयान लिएर आजै सक्ने तयारी छ । बयान सकिएपछि लामिछानेलाई आजै कास्की पठाइने रुपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जीतसिंह राठौरले जानकारी दिएका छन् । मङ्गलवार कास्कीको पोखराबाट रुपन्देहीको भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले मङ्गलवारदेखि नै नियमित बयान लिइरहेको छ ।

लिखित बयानमा सरकारी न्यायाधिवक्ता पौडेलसँगै इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डित, प्रहरी अनुसन्धान अधिकृत लगायतको सहभागिता छ । बयानका आधारमा पुरुक प्रतिवेदन बनाउने तयारी छ ।

बयान चलिरहँदा भैरहवामा सरकारी वकिल कार्यालय आसपास सुरक्षाकर्मी व्यवस्था कडा बनाइँदै आएको छ । लामिछानेलाई बयानका लागि रुपन्देही ल्याएसँगै सहकारी पीडित र रास्वपाका कार्यकर्ताले भैरहवामा प्रदर्शन गरेका छन् । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय आसपासको १ सय मिटर क्षेत्रमा भने नारा जुलुस गर्न निषेध गरिएको छ ।

बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । जोशी र लामिछानेसहित जीवी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको थियो । अहिले सहकारीका अध्यक्ष गुरुङ पुर्पक्षका लागि जिल्ला कारागार रुपन्देहीमा छन् । सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा भइसकेका छन् । कास्की प्रहरीको हिरासतबाट भैरहवा ल्याइएका कुमार रम्तेल र शिवबहादुर गुरुङको बयान लिइसकिएको छ ।