Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

ट्रम्पको फौजदारी सजायसम्बन्धी फैसला फेरि स्थगित

नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फौजदारी सजायको फैसला फेरि स्थगित भएको छ ।न्यूयोर्कको एक अदालतका न्यायाधीश जुआन मार्चनले नोभेम्बर १९ सम्मका लागि ट्रम्पको सुनुवाई स्थगित गरेका हुन् । 

ट्रम्पको सजाय रद्द गर्ने विषयमा मंगलबार सुनुवाइ भएको थियो । गत हप्ताको सुरुमा ट्रम्पका वकिलहरूले यस मुद्दाको सुनुवाई स्थगित गर्न अदालतसमक्ष आग्रह गरेका थिए।

हालै राष्ट्रपति चुनाव जितेका ट्रम्प गत मे ३० मा पोर्न स्टार स्टर्मी डेनियललाई मौन बस्नका लागि पैसा तिरेको मुद्दामा दोषी ठहर भएका थिए । दोषी भएपछि ट्रम्पले अगस्टमा संघीय अदालतलाई मुद्दामा हस्तक्षेप गरेर सजाय रद्द गर्न आग्रह गरेका थिए।

त्यसपछि संघीय अदालतले सो मुद्दालाई न्यूयोर्क अदालतमा फिर्ता पठाएको हो । ट्रम्पविरुद्ध यो प्रकरण सन् २०१६ मा अमेरिकाको राष्ट्रपति निर्वाचित हुनुअघिदेखि नै चलिरहेको छ । अदालतले ६ हप्तामा २२ जनाको बयान लिइसकेको छ। जसमा स्टर्मी डेनियल पनि रहेकी छिन् । हालै सम्पन्न निर्वाचनमा कमला ह्यारीसविरुद्ध फराकिलो जित निकालेका ट्रम्पले आउँदो जनवरी २० देखि अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने छन् । बीबीसी