Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

जापान मानव तस्करी प्रकरणः पूर्वमन्त्री अधिकारी थप सात दिन हिरासतमै रहने, अरु दुई जना पनि पक्राउ

कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी थप सात दिन प्रहरी हिरासतमा रहने भएका छन् । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई सात दिनको म्याद थप गरेको हो ।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माका अनुसार अदालतले अधिकारीलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थपको अनुमति प्रदान गरेको हो ।

 जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकारीलाई हिरासतमा लिएर मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा अनुसन्धान गरिरहेको छ । उनी आइतबार विराटनगरस्थित निवासबाट पक्राउ परेका थिए । सोही दिन काठमाडौं ल्याइएका उनीमाथि अनुसन्धान गर्न अदालतले पहिलो पटक दुई दिनको म्याद दिएको थियो ।

मानव तस्करी प्रकरणमा थप दुई जना पक्राउ
कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव तस्करी प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । 

प्रहरीले आज नक्कली कागजात बनाइदिने दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा खोटाङ घर भएका ४१ वर्षीय नवीन राई र ३२ वर्षीया गुड्डी राई छन् । यो प्रकरणमा पक्राउ पर्नेको संख्या पूर्वमन्त्री अधिकारीसहित गरी ९ पुगेको छ ।