नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले मुलुकमा आगामी दिनमा सडकमा अझै अराजकता बढ्दै जाने विश्लेषण गरेका छन् ।
उनले मुलुकमा सत्ता फासिष्ट हुँदै जाने र सडकमा अराजक पपुलिष्ट हुँदै जाने अवस्था आउने जिकिर गरे । महासचिव भूसालले मुलुकलाई सही ढंगले अघि बढाउनका लागि घुस नखाने पार्टी आवश्यक रहेको पनि बताएका छन् ।
घुस नखाने पार्टी भए मात्रै जनताले रोजगारी पाउने र मुलुकलाई आत्मनिर्भर ढंगले अघि बढाउने सिद्धान्त बन्ने र त्यसले मुलुकलाई सही ढंगले अघि बढाउने तर्क गर्दै उनले त्यसका लागि क्रान्तिकारी एजेण्डासहितको समूह सडकमा आउनुपर्ने समेत बताए ।
शनिबार काठमाडौंमा आयोजित ‘अक्टोबर क्रान्ति र लेनिन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव भूसालले घुस नखाने पार्टीले मात्रै आजको लेलिनलाई पुनर्जागृत गर्न सक्ने र त्यसले मात्रै विद्यमान समस्याको समाधान गर्दै मुलुकलाई अघि बढाउन सक्ने धारणा राखे । महासचिव भूसालले रुस कालिन बोल्सेविक क्रान्ति सम्पन्न गर्न पनि क्रान्तिकारी एजेण्डासहितको सडक आन्दोलन गर्ने वस्तुगत स्थिति तयार भएको दाबी समेत गरे ।