अमेरिकी रिपब्लिकन पार्टीका राष्ट्रपतिका उमेदवार डोनाल्ड ट्रम्पले फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दैछन् । उनी श्रीमती मेलानिया ट्रम्प र चुनावी अभियानका कर्मचारीसँगै स्टेजमा पुगेका थिए । “हामी हाम्रो देशलाई ठिक पार्न मद्दत गर्नेछौँ,” ट्रम्पले भने । सम्बोधनका क्रममा ट्रम्पले अबका वर्षहरू अमेरिकाको लागि ‘स्वर्ण युग’ हुने दाबी गरेका छन् ।
रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले फ्लोरिडामा आफ्नो चुनावी अभियानको मुख्यालयमा उपस्थित नागरिकलाई सम्बोधन गरेका छन् । चुनावी नतिजा आफ्नो पक्षमा आउने सम्भावना निकै बलियो भएपछि ट्रम्प आफ्ना समर्थकलाई सम्बोधन गर्न फ्लोरिडा पुगेका हुन् । मतदातालाई सम्बोधन गर्दै ट्रम्पले आजको दिनलाई आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण दिनको रूपमा सम्झने विश्वास व्यक्त गरेका छन् । उनले आफ्नो चार वर्षे कार्यकाल अमेरिकाका लागि स्वर्ण युग (गोल्डेन एज) हुने दाबी गरे ।
‘यो अमेरिकाको लागि स्वर्ण युग हुनेछ’ उनले भने, ‘यो अमेरिकी जनताको लागि ठूलो विजय हो जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन सक्षम बनाउँछ। अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली जनादेश दिएको छ ।’
रिपब्लिकन पार्टीले दुवै सदनमा सम्भावित जितलाई संकेत गर्दै उनले उक्त अभिव्यक्ति दिएका हुन् । श्रीमती मेलानियाका साथै परिवारका सदस्यहरुलाई धन्यवाद दिएका उनले जेडी भान्सलाई उपराष्ट्रपतिका रुपमा प्रस्तुत गरे । भान्सले पनि सम्बोधन गर्दै यो जित ठूलो राजनीतिक पुनरागमन भएको बताए ।
ट्रम्पले एलन मस्कको पनि निकै तारिफ गरे । उनी रिपब्लिकन पार्टीको ‘न्यू स्टार’ भएको बताउँदै ट्रम्पले भने, ‘मस्क वास्तवमै गज्जबका मान्छे हुन् ।’ ट्रम्पले सम्बोधनको क्रममा आफ्नी पत्नी मेलानिया र परिवारलाई धन्यवाद दिए । उनले मेलानियाको पुस्तकको प्रशंसा गर्दै भने, ‘उनले निकै राम्रो गरेकी छन् ।’
सम्बोधनको क्रममा ट्रम्पले आफ्नो जित घोषणा गरेका छन् । यद्यपि यसको औपचारिक घोषणा भने भइसकेको छैन ।