Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

काठमाडौं वौद्धबाट २० जुवाडे पक्राउ, साढे ६ लाख बढी बरामद

काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटी रामनगरमा जुवातास खेल्ने २० जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार रामबहादुर सुनारको ४ तल्ले घरको भुई तलामा पैसाको हारजित हुने गरी जुवातास खेलिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट प्रहरी टोलीले पक्राउ गरेको बताइएको छ । उनीहरूको साथबाट ६ लाख ६९ हजार ८१० रुपैयाँ बरामद गरेको परिसरले जनाएको छ । 

खेलमा प्रयोग भएको ३ बुक र ६ बुक नखोलेको ताससहित उनीहरूलाई नियन्त्रणमा लिई प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।