आज भाइटीका । दाजुभाइ तथा दिदीबहिनीहरु नहुनेले रानीपोखरीस्थित बाल गोपालेश्वर मन्दिरमा गएर टीका ग्रहण गरेका छन । आज बिहानैदेखि रानीपोखरीमा टीका लगाउनेहरु भीड बढेको छ । भाइटिकाको दिनमा मात्रै खोल्ने यो मन्दिरमा दर्शनार्थीको भीड बढने क्रम जारी छ ।

दिदीबहिनी नहुनेका लागि भाइटीका लगाउन काठमाडौंको रानीपोखरीस्थित बाल गोपालेश्वर मन्दिर दिनभर खुला रहने भएको छ । बाल गोपालेश्वर प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाको भक्तजनका लागि वर्षमा एक पटक खुल्ने गर्दछ ।

दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । यस स्थानमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन् ।

भाइटीकाकै लागि मन्दिर पोखरीलाई बेहुलीझैं झिलीमिली र सुरक्षा व्यवस्था पनि गरिएको छ । भूकम्प पछिका पाँच वर्षसम्म हरेक वर्ष बालगोपालेश्वरको मन्दिरलाई पोखरीको बाहिरी भागमा राखी दर्शनको व्यवस्था गरिएको थियो ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन वि.सं. १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ ।