Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

फूल बेच्न भ्याइनभ्याई

बारीमा फूल फुलेर पहेंलपुर छन् । कोही फूल टिप्दैछन् त कोही माला उन्नमा व्यस्त छन् । फूल किन्ने ग्राहकको पनि घुइँचो नै छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरका प्रेम रोकायालाई हाल फूल बिक्री गर्न भ्याइनभ्याई छ । तिहारका लागि फूलको माग बढेको उनको भनाइ छ । ‘तिहारका लागि फूलको माग असाध्यै छ । मागअनुसार फूल पुर्याउन भ्याइनभ्याई छ’, उनले भने, ‘कोही बारीमै पुगेर फूल किनिरहेका छन् । कतिपयले फोनबाट फूलको माग गरेका छन् ।’

पछिल्लो समय रोकाया मागअनुसार फूल पुर्याउन मोटरसाइकल बिहानैदेखि दौडधुप गरिरहन्छन् । फूल बिक्रीका लागि कहिले दोधारा चाँदनी त कहिले सदरमुकाम महेन्द्रनगर पुग्ने गरेका छन्, उनी । तिहारमा हालसम्म रु १५ हजारका फूल बिक्री गरेको रोकायाको भनाइ छ । ‘दिनमा एक पटक महेन्द्रनगरको माग पूर्ति गर्न फूल लिएर आउनुपर्छ । त्यसपछि दोधारा चाँदनीमै व्यस्त भइन्छ’, उनले भने, ‘तिहार लक्षित गरेर फूलखेती गरिएकाले तिहार सबै फूल बिक्री गरिसक्नुपर्ने हो ।’

सुन्दरनगरमा रोकायाले बाह्र कट्ठा जमिनमा फूलखेती गरेका छन् । उनको खेतमा हाल सयपत्री र मखमली फूल फुलेर बिक्रीका लागि तयार छन् । प्रतिकिलोग्राम रु तीन सयका दरले फूल बिक्री भइरहेको उनले बताए। अझै खेतमा डेढ क्विन्टल फूल बिक्री गर्न बाँकी रहेको उनको भनाइ छ । ‘रामलीलालगायत कार्यक्रममा पनि फूल बिक्री भयो । तिहार बाँकी फूल सबै बिक्री हुने विश्वास छ’, रोकायाले भने, ‘पोहोर साल रु पाँच सय किलोग्रामका दरले बिक्री भएको थियो । उपभोक्ता महँगो भनेपछि यसपालि मूल्य घटाएको हो ।’ बाह्र कट्ठा जमिनमा फूल खेती गर्न रु ४५ हजार लगानी लागेको उनको भनाइ छ ।

भारतबाट फर्किएर रोकायाले दुई वर्षअघिदेखि फूल खेती थालेका हुन् । सुरुआतमा भारतबाट रोकायाले फूलको बीउ मगाएर खेती गरेका थिए । ‘अब बीउ ल्याउनुपर्ने अवस्था छैन । फूलको बेर्ना आफैले खेतमा उत्पादन गर्ने गरेको छुँ’, उनी भन्छन्, ‘फूल र माला बेचेर वार्षिक रु एक लाखभन्दा बढी आम्दानी हुन्छ ।’ असार अन्तिमतिर राखेको बेर्ना एक महिनामै खेतमा सार्नका लागि तयार हुन्छ । साउनमा खेतमा सारेको फूलको बेर्ना असोजदेखि बिक्रीका लागि तयार हुने गरेको उनको भनाइ छ ।