Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग १,६०२ मेगावाट, २५३ मेगावाट भारत निर्यात

तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग (पिक डिमाण्ड) १,६०२ मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ः२५ बजे पिक डिमाण्ड १,६०२ मेगावाट रेकर्ड गरिएको हो।

गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १,४३८ मेगावाट थियो । गत वर्षकोभन्दा यो वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १६४ मेगावाट बढी हो । तिहारमा उद्योग, कलकारखानाहरू बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । 

लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रैका विद्युत्गृहहरूबाट उत्पादन गरी आपूर्ति गरिएको थियो । देशभित्रको विद्युत् मागलाई पूरा गरी अतिरिक्त भएको २५३ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ । गत वर्ष लक्ष्मीपूजा पिक समयमा ५१७ मेगावाट मात्र निर्यात गरिएको थियो । यो वर्ष बाढी पहिरोले क्षतिपुग्दा ४५६ मेगावाटको माथिल्लो तामाकोसी, काबेली करिडोर प्रसारण लाइनमा जोडिएको करिब २०० मेगावाट र अन्य केही साना जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द छ । 

लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युतको माग १,८५५ मेगावाट रेकर्ड गरिएको छ । अघिल्लो वर्ष प्रणालीको पिक डिमाण्ड १,९५५ मेगावाट थियो । यसवर्ष लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमाण्ड ३९० मेगावाट रेकर्ड गरिएको छ  । गत वर्ष ३६६ मेगावाट थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिगतमा लोडसेडिङको अवस्थामा लक्ष्मीपूजाको दिनको विद्युत् मागलाई पिक डिमाण्ड मान्ने गरिएकोमा अहिले त्यस्तो अवस्था नरहेको जानकारी दिए ।

‘आठ वर्षअघि लक्ष्मीपूजाको दिनको विद्युत् माग व्यवस्थापनका लागि आयात हुने गरेकोमा केही वर्षदेखि आन्तरिक उत्पादनले नै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएको हो’, कार्यकारी निर्देशक घिसिङले भने, ‘बाढीपहिरोले जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति नपुर्‍याएको भए यो वर्ष लक्ष्मीपूजाको दिन झण्डै एक हजार मेगावाट विद्युत् निर्यात गर्न सकिने अवस्थामा हुन्थ्यौं ।’