Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

‘सांस्कृतिक तिहार’मा धपक्कै बल्यो फेसने सहर धरान

फेसने सहरका रूपमा चिनिने धरान सांस्कृतिक पर्व तिहारमा धपक्क बलेको छ । तिहार सुरु भएसँगै चारैतिर झिलीमिली देखिएको छ । किनमेल गर्न सर्वसाधरणको घुइँचो लागेको छ । झिलीमिली बत्ती, मीठाइ मसला र फूलहरूले पूरै बजार ढाकेको छ ।

दसैँपछि नेपालीहरूको दोस्रो ठूलो पर्व भनेर चिनिने तिहारलाई साङ्गीतिक चाडका रूपमा फूलमाला, रङ र उज्यालो पर्वका रूपमा लिइन्छ । तिहारमा दियो, बत्ती बालेर घरलाई झिलीमिली पारिन्छ । फूलको मालाले घर सिङ्गरिने चलन पनि उत्तिकै बढ्दो छ । पछिल्लो समय परम्परागत दियो बाल्ने चलन हिजोआज लोप हुँदै गएकाले आधुनिक झिलीमिली बत्तीले निकै ठाउँ पाएको व्यापारी नारद यादवले बताए।

तिहारमा विभिन्न किसिमका झिलीमिली बत्तीको व्यापार फस्टाएको यादवले बताए। उनले भने, “अहिले यस्ता बत्तीको मागसँगै बिक्री बढेको छ । बजारमा अहिले इलेक्ट्रिक पसलदेखि विभिन्न खुद्रा पसलमा पनि सिजनल व्यापारका रूपमा धेरै व्यापारीले बेचिरहेका छन् । व्यापार राम्रो भएको छ ।” झिलीमिली बत्ती अन्य चाडपर्व र विवाहको सिजनमा थोरैथोरै बिक्री भए पनि तिहारको समयमा अत्यधिक बिक्री हुने गरेको उनले बताए।

धरानको मुख्य बजार भानुचोक सब्जी मन्दिरलगायत ठाउँमा यतिबेला बत्ती, फूलमालालगायत सामान किन्ने र बेच्नेको भ्याइनभ्याई छ । तिहारका लागि आवश्यक विभिन्न सामग्री खरिद र बिक्री गर्ने सर्वसाधरणको घुइँचो यतिबेला हरेक बजारमा देखिन्छ ।

भानुचोकमा झिलीमिली बत्ती बेच्दै गर्दा भेटिएका प्रविन श्रेष्ठ तिहारमा छुट्टै खाल्को रौनक छाएको बताए । उनले भने, यतिबेला बजारमा विद्युतीय सामानको खरिद बिक्री निकै बढेको छ ।” श्रेष्ठका अनुसार तिहारको समयमा झिलीमिली बत्तीको बिक्री राम्रो भएकाले व्यापार राम्रो हुने गरेको छ । दिनमा रु ४० देखि रु ५० हजारसम्मको विद्युतीय बत्तीलगायत सामान बिक्री हुने गरेको उनले बताए ।