मोरङमा प्रेसर कुकर पड्किँदा घाइते महिलाको आज बिहीबार बिहान मृत्यु भएको छ ।
बेलबारी नगरपालिका–६ सोमबारे बोराबाँधकी ३८ वर्षीया सविना मगरको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार घरमा खाना पकाउने क्रममा कात्तिक ३ गते बिहान प्रेसर कुकर विस्फोट हुँदा मगर घाइते भएकी थिइन्।
उनको १२ दिनपछि मृत्यु भएको हो । कुकरको सिट्ठीले निधारमा लागेर घाइते भएपछि मगरलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
मगरको उपचारकै क्रममा बिहान ८ बजेतिर मृत्यु भएको जोशीले जानकारी दिए । कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।