Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

तिहारका लागि विद्युत आयात गर्नु पर्दैन, जति प्रयोग गरे पनि हुन्छः कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरैभन्दा धेरै विद्युत खपत गर्न आग्रह गरेका छन् । विद्युत खपतका लागि पर्याप्त विद्युत भएकाले तिहारमा जतिसक्दो बढी विद्युत प्रयोग गर्दा पनि हुने उनले बताए ।

कुनै प्राविधिक समस्या बाहेक लक्ष्मी पूजामा बत्ती नजाने उनले बताएका छन्। ‘तिहारको लागि विद्युत आयात गर्नु पर्दैन। बढी पनि हुन्छ । कतै–कतै प्राविधिक समस्या भएर लाइन गयो भने मात्रै नत्र तिहारमा विद्युत नपुगेर लाइन काट्नुपर्ने अवस्था छैन । तिहारमा विद्युत जति प्रयोग गर्न सकिन्छ सबैले प्रयोग गर्नु अनुरोध गर्दछु,’ उनले भने ।

यो वर्षको तिहारमा मुलुकभित्र पुग्ने विद्युत उत्पादन रहेको भन्दै तिहारको लागि विद्युत आयात गर्नुपर्ने अवस्था नरहेको उनले जानकारी दिएका छन् । सकेसम्म तिहारमा विद्युत पुर्‍याएर निर्यात समेत गर्न पुग्ने विद्युत प्राधिकरणसँग रहेको उनको भनाइ छ । असोज दोस्रो साता आएको बाढीले ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको पनि उनले बताए ।

‘मुख्य गरेर यो वर्ष वर्षातको कारण आएको बाढी पहिरोको कारणले जलविद्युत क्षेत्रमा ठूलो क्षति पुगेको छ । प्राधिकरण र निजी क्षेत्र दुवैमा क्षति पुगेको छ। तामाकोशी ४६५ मेगावाट अहिले पनि आउट छ । प्रशारणलाइन बगाएको हुनाले काबेली करिडोरको करिब २ सय मेगावटको आयोजना आउट छन् । करिब ७ सय मेगावटका जलविद्युत प्रणालीभन्दा बाहिर छन् । एक महिना भन्दा बढी भयो उत्पादन भएको छैन,’ उनले भने ।

अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदमा भने आयात गरेर व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । अहिले पनि २१ सय मेगावाट विद्युत उत्पादन भए पनि घटेर १९ सयमा झरेको उनले जानकारी दिए । ‘यति हुँदा पनि हामीलाई पुग्ने विद्युत उत्पादन छ । करिब २ हजार एक सय मेगावटको उत्पादन अहिले छ । तर त्यो घटेर १९ सय मेगावटमा झरेको छ । दैनिक रुपमा उत्पादन घट्दो क्रममा छ । तिहारको लागि हाम्रो उत्पादनले हामीलाई पुग्छ,’ उनले भने । यो वर्ष बाढी पहिरोका कारण जलविद्युत आयोजनाहरूमा क्षति पुगेका कारण हिउँदमा थप विद्युत आयात गर्नुपर्ने अवस्था रहेको उनले बताएका छन् ।