Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

कञ्चनपुर दम्पती हत्या प्रकरणः शंकास्पद तीन जना पक्राउ

कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनवारीमा दम्पती हत्या घटनाको अनुसन्धानका लागि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

प्रहरीले पक्राउ परेकाहरुको पहिचान गोप्य राखेको छ । घटनामा शंकास्पद तीनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीएसपी हेमबहादुर शाहीले जानकारी दिएका छन् ।

शुक्रबार लालझाडी गाउँपालिका–१ बिनवारीका ४६ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीया कमला बडायकको शव बीभत्स ढंगले हत्या गरिएको अवस्थामा घरको आँगनमा भेटिएको थियो । रक्ताम्य  भेटिएका उनीहरुको टाउकोमा धारिलो हतियार प्रहार गरेको चोट छ । घटनाको अनुसन्धानका लागि कञ्चनपुरका डीएसपी उमेश जोशी शुक्रबारदेखि घटनास्थलमा छन् ।

हत्या गरिएका पति–पत्नीले बिहीबार बैंकबाट दुई लाख ४३ हजार रुपैयाँ साटेको खुलेको छ । मृतक दम्पतीले बिनवारीमा एक्लै बस्दै आएका थिए । उनले त्यहाँ नास्ता पसल चलाउँथे । त्यहाँ मदिरा बिक्री पनि हुने गरेको थियो । मृतक दम्पतीका दुई छोरा र एक छोरी छन् । छोराहरु गाउँको अर्को घरमा बस्ने गरेका थिए ।