Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

‘एनआरएन ग्लोबल कन्क्लेभ–२०२४’ कार्तिक ११ र १२ गते

गैरआवासीय नेपाली दिवसको अवसरमा ‘रूपान्तरण र एकताः श्रम, लगानी, र नागरिकताको निरन्तरता’ भन्ने मुख्य विषयमा केन्द्रीत रहेर एनआरएन ग्लोबल कन्क्लेभ–२०२४ तथा वार्षिक साधारण सभा आयोजना हुँदैछ । 

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै एनआरएन ग्लोबल कन्क्लेभ–२०२४ यही कार्तिक ११ र १२ गते काठमाडौंको होटल सोल्टीमा आयोजना हुन लागेको जानकारी गराइएको हो । 

Dr Badri KC .jpg

कार्यक्रमको उद्घाटन आइतबार साढे ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् । नेपाल सरकारका मन्त्रीहरु, उच्च पदस्थ पदाधिकारीसहित स्वदेश तथा विदेशबाट उच्च पदस्थ व्यक्तित्व एवं विज्ञहरूको सहभागिता रहने कार्यक्रममा ७ वटा प्लेनरी सत्र रहनेछन् । 

कार्यक्रममा स्वदेश तथा विदेशका ५ सय भन्दा बढी व्यक्तित्वको सहभागिता रहने अपेक्षा रहेको छ । कार्यक्रमको पहिलो दिन कार्तिक ११ गते नेपालमा आर्थिक रुपान्तरका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पीएनजी), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरण सम्बन्धी विषयमा छलफल हुनेछ ।

Gauri Raj Joshi .jpg

कार्यक्रमको दोस्रो दिन कार्तिक १२ गते राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तिकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा र नेपाल पर्यटन प्रवर्धनः नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिका लगायतका सत्रहरु समावेश गरिएका छन् ।

स्थानीय र प्रदेश सरकारसँग सहकार्य गर्ने उद्देश्यले स्थानीय तहका प्रमुख तथा प्रदेश स्तरका मन्त्रीको सहभागिता हुने कार्यक्रमले विश्वभर रहेका गैरआवासीय नेपालीहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, नीतिनिर्माण तहका विज्ञहरू, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरु तथा बौद्धिक समुदायलाई एकै स्थानमा ल्याई गहन छलफलको मञ्च उपलब्ध गराउने छ । यस अवसरमा एनआरएन डेभलप्मेन्ट फण्ड (१० अर्वको फण्ड) को सञ्चालनका लागि भइरहेको अन्तिम तयारीबारे नेपाल सरकारका मन्त्रीलगायत सरोकारवालासँग छलफल हुनेछ ।