Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

पञ्चवर्षीय गढीमाई मेला मंसिर १७ गतेदेखि

विश्व प्रसिद्ध गढीमाई पञ्चवर्षीय मेला आगामी मंसिर १७ गतेदेखि सुरु हुने भएको छ। विशेषगरी दुई सातासम्म संचालन हुने मेलाको विधिवत् शुभारम्भ भने भइसकेको छ। बाराको महागढीमाई नगरपालिका १ बरियारपुरमा रहेको गढीमाई मन्दिरमा बडादशैंको घटस्थापनाको दिन पूजा भएसँगै मेला विधिवत् सुरु भएको हो।

मंसिर १७ देखि ३० गतेसम्म संचालन हुने मेलामा नेपालबाहेक छिमेकी देश भारतबाट ठूलो संख्यामा श्रद्धालुहरू आउने गरेका छन्। मेला व्यवस्थापन समितिले यसपटक पनि लाखौंको संख्यामा भारतबाट भक्तजन मेला भर्न आउने विश्वास लिएको छ।

गढीमाईको विशेष पूजा

मङ्सिर शुक्ल पक्ष सप्‍तमी तिथिका दिन झाँक्रीले विधिपूर्वक विशेष रूपमा तान्त्रिक पूजा गरी पञ्चबलि दिने परम्परा रहिआएको छ।

विशेष पूजा मंसिर २३ देखि २५ गतेसम्म हुने र मंसिर ३० गते मेला विसर्जन हुने मेला व्यवस्थापन समितिले जनाएको छ। विशेष पूजाका लागि सहयोग स्वरुप ५ सय रुपैयाँ तोकिएको छ। विशेष पूजावापत संकलन भएको रकमले मन्दिरमा पुजारी राख्ने तथा अन्य सरसफाइका काममा खर्च गर्ने योजना रहेको मेला समितिले जनाएको छ।

समितका अनुसार मेलामा आउने भक्तजनको सुरक्षाका लागि समेत उचित व्यवस्था गरिएको छ। हरेक चोक चोकमा प्रहरी खटाउनेदेखि अन्य गस्तीको समेत व्यवस्था मिलाइएको मेला व्यवस्थापन समिति संयोजक उपेन्द्र प्रसाद यादवले बताए।

बाराको गढीमाई मन्दिर नेपालको मात्रै नभई भारतसहित हिन्दु धर्म मान्नेहरूको लागि ठूलो शक्तिपीठको रुपमा रहेको छ। यहाँ आएर सहि हृदय एवं शान्त मनले मागिएको भाकल एवं मनोकामना पुरा हुने भएको हुँदा गढीमाई प्रति आस्था र विश्वास बढ्दै गएको र बलि दिनेहरूको संख्यामा उल्लेख्य संख्यामा वृद्धि भएको मेला व्यवस्थापन समितिको भनाइ छ।

यहाँ विशेषगरी राँगाको बलि दिइन्छ। तान्त्रिक पद्धतिका कारणले गढीमाई मन्दिरमा राँगा बलि दिने गरिएको मूल पुजारी शिव चौधरी बताउँछन्। गढीमाई मन्दिरमा मुसा, परेवा, बोका, राँगा र खरायो गरी पाँच पशु एवं पक्षीलाई पञ्चबलि चढाएपछि सर्वसाधारणले भाकलअनुसार बलि चढाउने गर्छन्। 

मन्दिरका मूल तान्त्रिक दुखन धामीले आफ्नो शरीरको ५ स्थानबाट रगत निकालेर चढाएपछि गढीमाई मन्दिरमा बलि सुरु हुने गर्दछ।

मेला व्यवस्थापन समितिले यसपाली लाग्ने पञ्चवर्षीय विश्व प्रसिद्ध मेलामा लाखौं दर्शनार्थीहरू आउने अनुमान गरेको छ। जसका लागि मेला समितिले यो वर्ष एक हजार बिघामा मेला लगाउने तयारी गरेको छ।

सो क्षेत्रफलमा विभिन्न स्टलदेखि लिएर मनोरञ्जनका साधन, पार्किङ, सात वटै प्रदेशका कृषिजन्य उत्पादन राख्ने तयारी गरिएको छ।