Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

इजरायल जान छानिएका नेपाली श्रमिकलाई तत्काल किन नपठाइने भयो?

सरकारले तत्काल इजरायलमा नेपाली श्रमिक नपठाउने भएको छ । इजरायल र अन्य देशबीचको युद्ध साम्य नभएपछि सरकारले परिस्थिति सहज नहुँदासम्म श्रमिक नपठाउने भएको हो । इजरायलमा शान्तिपूर्ण अवस्था बनेपछि मात्रै श्रमिक पठाउने तयारी रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

जीटूजी (सरकार–सरकारबीचको समझदारी) प्रक्रियाबाट केयर गिभरको रूपमा इजरायल जाने २,११२ जना नेपाली श्रमिकको छनोट १४ असोजमा चिठ्ठा प्रणालीबाट गरिएको थियो । वैदेशिक रोजगार विभागले इजरायलमा जाने नेपाली श्रमिकहरूको सुरक्षा सुनिश्चित भएपछि मात्रै पठाउने प्रक्रिया थाल्ने बताएका छन् ।

इजरायल पछिल्लो एक वर्षयता समयदेखि प्यालेस्टाइनको हमाससँगको युद्ध लडिरहेको छ । पछिल्लो समय इजरायल–इरानबीच युद्ध चर्कदो छ । दुवैले एक अर्कालाई लक्षित गरी क्षेप्यास्त्रहरु प्रहार गरिरहेका छन् । लेबनानसँग पनि इजरायल युद्धमा छ । निरन्तरको युद्धका कारण अहिले इजरायलमा कार्यरत नेपालीहरू त्रसित अवस्थामा छन्।यस्तो बेलामा सरकारले भने रोजगारीका लागि थप नेपालीलाई त्यहाँ पठाउने तयारी गरेपछि त्यसको आलोचना भएको थियो।

केयर गिभरको काम गर्न इजरायलले गोला प्रथाबाट छनोट गरेका नेपालीमा एक हजार १५६ महिला र पुरुष ९५६ छन्। छनोट भएका श्रमिकलाई पठाउन स्वास्थ्य परीक्षणपछि पूर्वप्रस्थान अभिमुखीकरण तालिम दिनुपर्छ । तर, अहिले विभाग यी प्रक्रिया अघि बढाइहाल्ने पक्षमा छैन ।

गत वर्ष २१ असोजमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परेर इजरायलमा १० जना नेपालीको मृत्यु भएको छ । बेपत्ता भएका विपिन जोशीको अवस्था अझै अज्ञात छ । यो घटनापछि सरकारले विमान पठाएर २५३ जना र पछि भारत सरकारको सहयोगमा थप १८ जना नेपालीलाई स्वदेश फर्काएको थियो।

हाल इजरायलमा करिब ४५ सय नेपाली रहेको अनुमान छ । त्यहाँ लेबनान र इरानले गरेको आक्रमणका कारण नेपालीहरू त्रासमा छन् । त्यसैले युद्ध चर्किएमा विगतमा जस्तै नेपालीहरू उद्धार गर्न समेत तयार हुनुपर्ने भएकाले सरकारले केही समय श्रमिक नपठाउने नीति बनाएको हो ।