Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

छवि र रविलाई बयानका लागि पाँच जिल्ला पुर्‍याइँदै

छविलाल जोशीसँग भैरहवामा १३ घण्टा बयान, ५७ वटा प्रश्न

पोखरामा प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले पार्टी सभापति रवि लामिछाने बुधबार छुट्ने बताइरहेका बेला प्रहरीले भने उनीमाथिको अनुसन्धानलाई थप फराकिलो बनाउँदै लगेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई सोमबार नै रुपन्देही लगिसकिएको छ ।  

असोज ६ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएका जोशीलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणबारे बयान लिन रुपन्देही लगिएको हो । जोशीसँगै कात्तिक २ गते सोही सहकारी ठगी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई समेत सूर्यदर्शन सहकारी ठगीबारे बयान सकिएपछि रुपेन्देही लगिने भएको छ । 

सूर्यदर्शनसहित विभिन्न पाँच सहकारीमार्फत ग्यालेक्सी टेलिभिजनमा रकम आएको खुलेको हुँदा सहकारी रहेका जिल्लाहरुमा छवि र रवि दुबैलाई लैजाने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ । रुपेन्दीसँगै उनीहरुलाई वीरगञ्ज, चितवन, काठमाडौं समेत ल्याइने छ ।

वीरगञ्जको सानोपाइला सहकारी, चितवनको साहारा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमार्फत ग्यालेक्सी टेलिभिजनमा अवैध तरिकाले रकम आएको खुलेको थियो । जोशी ग्यालेक्सी टेलिभिजनका पूर्व सञ्चालक र रवि प्रबन्ध निर्देशक हुन् । गोर्खा मिडियाका अध्यक्ष जीबी राई भने फरार छन् । संसद्को सहकारी ठगी प्रकरणबारे छानबिन गर्न बनेको संसदीय छानबिन समितिले जीबी राईले स्थापना गरेको पाँच सहकारीमार्फत ६५ करोड रकम अवैध तरिकाले आएको खुलाएको थियो । 

छविलाल जोशीसँग भैरहवामा १३ घण्टा बयान, ५७ वटा प्रश्न

बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा ल्याइएको विषयमा नेटवर्कका उपाध्यक्ष छविलाल जोशीसँगको सोमबार र मंगलबार १३ घण्टा बयान लिइएको छ । पोखराको सूर्य दर्शन सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धानका क्रममा पोखरा प्रहरी हिरासतमा रहेका जोशीलाई बुटवलको सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले सोमबार बुटवल ल्याएको हो ।

सोमबार ५ र मंगलबार ८ गरी १३ घण्टा जोशीसँग बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय भैरहवाका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिएका छन् ।  जोशीलाई अनुसन्धानका क्रममा ५७ वटा प्रश्न सोधिएको बताइएको छ । पौडेलले भने, ‘उहाँबाट प्राप्त उत्तरलाई अनुसन्धान प्रतिवेदनमा समावेश गर्नेछौं ।’ बुटवलको सुप्रिम सहकारीबाट जोशीका नाममा २ करोड ५० लाख रुपैयाँ गएको देखिएको छ । त्यस्तै गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वपा सभापति रवि लामिछानेका नाममा २ करोड रकम गएको अनुसन्धानमा देखिएको छ ।

जोशी, लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिमका १० हजार ३ सय ९१ बचतकर्ताको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम ट्रान्सफर भएको छ । प्रहरीले यसअघि गरेको छानबिनमा जोशी, राई, सुप्रिमका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । तीमध्ये गुरुङ पुर्पक्षका लागि कारागार चलान भएका छन् । सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा छुटेका छन् । पूर्व अध्यक्ष राईसहित अन्य व्यक्ति फरार छन् ।