Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

सुनकोशी पुल बगेपछि व्यापारमा मन्दी

गत असोज १२ गते आएको भीषण वर्षासँगैको बाढीले गाईघाट दिक्तेल सगरमाथा सडकमार्ग खण्डको सुनकोशीस्थित फोक्सिङटारको पुल बगाएपछि गाईघाट, दिक्तेलसँगको व्यापारिक कारोबारमा ह्रास आएको छ ।

 उदयपुरको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङको दित्तेल जोड्ने फोक्सिङटारस्थित सुनकोशीको पुल बाढीले भत्काएपछि यातायात अवरुद्ध हुँदा गाईघाट दिक्तेलका व्यापारिक कारोबार घट्न पुगेको हो । 

त्रियुगा उद्योग वाणिज्य सङ्घ गाईघाटका अध्यक्ष रमेश विककाअनुसार गाईघाट दिक्तेल सगरमाथामार्ग नियमित सञ्चालन हुँदा खोटाङको दिक्तेलसँग नियमित गाईघाटबाट दैनिक पाँच लाखदेखि १५ लाखसम्मको वस्तु आपूर्ती हुने गरेको थियो । तर अहिले यातायात सेवा अवरुद्ध भएपछि गाईघाट दिक्तेलको व्यापारिक कारोबार झण्डै शून्य जस्तै बन्न पुगेको उनको भनाइ छ । 

हिमाली यातायात व्यवसायी सङ्घ गाईघाटका सदस्य सुरेश श्रेष्ठका अनुसार सुनकोशीस्थित फोक्सिङटारको पुल बाढीले भत्काउन अघिसम्म गाईघाट दित्तेल सडक खण्डमा दैनिक चार वटा ठूला बस सञ्चालन हुने गरेको थियो । हाल गाईघाट दित्तेल सिधा यातायात सञ्चालन छैन । उक्त सङ्घअन्तर्गत गाईघाट दित्तेल सडक खण्डमा यातायात सञ्चालन हुँदा प्रतिदिन रु एक लाखसम्मको कारोबार हुने गरेको थियो ।

तर अहिले घाटा बढिरहेको सङ्घका पूर्वमहासचिव ओमभक्त मैनालीले बताए । गाईघाट दित्तेल सडक खण्ड अवरुद्ध भएपछि दित्तेल क्षेत्रका व्यापारीहरु सिद्धिचरणमार्गअन्तर्गत कटारी–घुर्मी–ओखलढु्गाको हर्कपुर–हलेसी हुँदै मालसामान लगिरहेको खोटाङ खोेटेहाङ गाउँपालिका भडारेका व्यवसायी बद्री श्रेष्ठले बताए ।