पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउपछि कास्कीको शहीद चोक र गैह्रापाटन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
यो निषेधाज्ञा आजदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले एक सूचना जारी गर्दै प्रदर्शन, जुलुस, हुलदंगा, झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना हुनसक्ने भएकाले निषेधाज्ञा जारी गरिएको जनाएको छ ।यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि मात्र निषेधित क्षेत्र ताेकिएकाे थियाे ।
रास्वपा कार्यकर्ता कालोपट्टी बाँधेर सडकमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि त्यसको विरोधमा रास्वपा कार्यकर्ता विरोधमा उत्रिएका छन् । उनीहरू कालोपट्टी बाँधेर सडकमा उत्रिएका हुन् ।
जिल्ला अदालत कास्की वरिपरि कडा सुरक्षा व्यवस्था अपनाइएको छ भने पोखरामा सहकारी पीडितले पनि लामिछानेलाई कारबाहीको माग गर्दै प्रदर्शनको तयारी गरेका छन् । रास्वपाले प्रत्येक जिल्लाबाट कम्तिमा पनि एक सय जना कार्यकर्तालाई पोखरामा उपस्थित भएर विरोध प्रदर्शन गर्न सर्कुलर जारी गरेको छ ।
सहकारी पीडितहरूले यसअघि पनि लामिछानेलाई पक्राउको माग गर्दै पोखरामा प्रदर्शन गर्दै आएका थिए । लामिछानेलाई शुक्रबार बेलुका काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो ।
